नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा दर्शकले प्रवेश पाउने

भदौ १६, काठमाडौं । नेपाल र भारतबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने भएका छन् ।

खेलको अघिल्लो दिन बुधबार पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई प्रवेशका लागि प्रशासन र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)बाट अनुमति प्राप्त भइसकेको बताए ।

उनले बुधबार मात्रै दर्शक प्रवेशका लागि अनुमति पत्र पाएको र करीब ५ हजार १ सय दर्शक प्रवेश गराउने योजना रहेको बताए ।

‘दर्शक प्रवेशका लागि सीसीएमसीबाट अनुमति सहितको पत्र प्राप्त भएको छ । ५ हजार १ सय दर्शकलाई प्रवेश अनुमति दिने योजना छ,’ शेर्पाले भने, ‘कोभिड–१९ विरुद्धको दुवै डोज खोप लगाएका वा पीसीआर नेगेटिभ रिपोर्ट भएका दर्शकलाई प्रवेश अनुमति दिइनेछ ।’

शेर्पाले सरकार र फिफा एएफसीले तोकेको सबै मापदण्ड पूरा गरेर खेल सञ्चालन गर्ने बताए । खेल हेर्नका लागि अनलाइनबाट टिकट किन्न सकिने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा एन्फाका उपाध्यक्ष तथा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका संयोजक उपेन्द्रमान सिंहले आयोजनाका सबै तयारी पूरा भइसकेको बताए ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल र भारतबीच बिहीबार र आइतबार गरी दुई मैत्रीपूर्ण खेल हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे शुरु हुनेछ ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply