बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने, को-को बन्दैछन् मन्त्री ?

भाद्र २३,काठमाडौँ । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए । मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको प्रमुख सचेतक निरौलाले बताए । मन्त्री बन्नेहरुको नाम भने उनले खुलाउन चाहेनन् । मुख्यमन्त्री शाक्यले आज मध्याह्न १२ बजे मन्त्रीहरु नियुक्त गरी शपथ गराउने तयारी भइरहेको उनले बताए ।

मुख्यमन्त्री शाक्य गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी हुन् । लामो समय एमालेमा माधवकुमार नेपालको पक्षमा रहँदै आएकी उनी प्रदेश सरकारको नेतृत्व गर्नुअघि एमालेमै रहने निर्णयमा पुगेकी थिइन् ।

भदौ २ गते मुख्यमन्त्री बने लगत्तै शाक्यले २ जना मन्त्री नियुक्त गरेकी थिइन् । २ जना मन्त्रीमध्ये सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्दै पदबाट राजीनामा दिइसकेका छन् भने अर्का मन्त्री केशव राज पाण्डेले सरकारको प्रवक्ताको जिम्मेवारीसहित आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका छन् । अन्य मन्त्रालय भने मुख्यमन्त्री शाक्य आफैले सम्हाल्दै आएकी छन् ।

बागमती प्रदेश सरकारको नेतृत्व गरेको एक सातामै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमाले विभाजनपछि शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री शाक्यले राजीनामा नदिने बताएकी छन् । उनले प्रदेशसभामा विश्वासको मत लिने संकेत गरेकी छन् । यद्यपि प्रदेशसभामा एमालेको पक्षमा बहुमत जुट्न तत्काल असम्भवजस्तै देखिन्छ ।

संम्बन्धित समचार

Leave a Reply