लगानी बोर्डको योजनाः ५ बर्षमा १० अर्ब डलर लगानी स्वीकृत, एक लाख रोजगारी सिर्जना

भदौ २४, काठमाडौं । लगानी बोर्डले पाँच बर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने रणनीतिक योजना सार्वजनिक गरेको छ । आफ्नो १०औं बार्षिकोत्सवमा बोर्डले उक्त रणनीति सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोर्डको पाँच बर्षे रणनीतिक योजना सार्वजनिक गरे । यसमा १० अर्ब डलरको लगानी स्वीकृत गर्ने, छ अर्ब डलर बराबरको सार्वजनिक निजी साझेदारी परियोजनाको व्यवस्थापन गर्ने, कम्तिमा एक लाख रोजगारी सिर्जना गर्न सहयोग पुर्याउने, प्रभावकारी लगानीबाट लगानीको बाताबरण सुधार गर्न सहयोग गर्ने तथा बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्टताको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारी गरी चार खम्बे योजनासहित नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने बोर्डको भनाई छ । कार्यक्रममा परियोजना विकासकर्ता, लगानीकर्ता, विकास साझेदारलाई सम्मान पनि गरेको गियो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुककोरुपमा स्तरोन्नती गर्दै दिगो विकास लक्ष्यहरू हासिल गर्ने योजनासहित अगाडि बढेकोले यसका लागि पूर्वाधारमा उल्लेख्य लगानी आवश्यक रहेको बताए ।

दिगो विकास लक्ष्य हासिल गर्नका लागि कुल बार्षिक औसत रु। पाँच खर्ब ५८ अर्ब अपुग रहेको भन्दै उनले कोभिडका कारण धेरै मुलुकहरू आफै लगानी भित्राउन लागिरहेको बेला नेपाललाई लगानी आकर्षित गर्न सहज नरहेको बताए । निजी लगानी प्रोत्साहनका लागि कानुनी प्रवन्ध गर्न सरकार तयार रहेको बताए ।

संम्बन्धित समचार

Leave a Reply