चन्दागिरि केवलकारमा जिपलाइनको मज्जा ! महामारीपछि चन्द्रागिरिमा मस्ती

भाद्र १९,काठमाडौँ । चन्द्रागिरी हिल्सद्धारा सञ्चालित चन्दागिरि केवलकार सञ्चालनमा आएको छ । लकडाउनपछि बन्द रहेको केवलकार सञ्चालनमा आएको पहिलो दिनमै झण्डै २ हजार आन्तरिक पर्यटकले चन्द्रागिरीको अवलोकन गरेका छन् । कोरोनाको महामारीपछि थप व्यवस्थित रुपमा सञ्चालनमा आएको चन्दागिरि केवलकारमा अव जिपलाइनको मज्जा लिन पनि पाइने भएको छ । कोभिड–१९ महामारीका कारण यही वर्षको वैशाखमा गरिएको निषेधाज्ञादेखि चन्द्रागिरि बन्द थियो ।

महाप्रबन्धक अभिषेकविक्रम शाहले अनलाइनकेन्द्र संग कुराकानी गर्दै कोरोना महामारीपछि पहिलो दिनको आम नागरिकको उपस्थितीले आफु उत्साहित भएको बताए । उनले कोरोनाबाट बच्नको लागि आवश्यक मापदण्डलाई कडाइ गरिएको बताए । शाहले चन्दागिरि केवलकार र रिसोर्टमा काम गर्ने सबै कर्मचारीले आवश्यक खोप लगाएको जानकारी दिँदै आउने आगुन्तुकलाई पनि सुरक्षित भएर हिँड्नको लागि अपिल गरे । केवलकारमा अहिले चारजना मात्रै चढ्न पाइने तर एउटै परिवारको लागि संख्याको आधारमा चढाइएको बताए ।

उनले चन्द्रागिरिलाई एकिकृत पर्यटकिय क्षेत्रको रुपमा विस्तार गरिएको बताउदै चन्द्रागिरीमा वाल क्लाइमिङका, स्काइ साइक्लिङ,घोडा सवारीका साथै काठमाडौँ उपत्यकाकै सबैभन्दा उचाईको जिपलाईन सञ्चालन भएको जानकारी दिए । उनले केही समयमै अझै लामो जिपलाइनको व्यवस्था हुने बताए । शाहले आउने पर्यटक खुसी हुँदा आफुलाई पनि आनन्द आउने बताए । शाहका अनुसार धेरैजसो उपत्यकाबाटै र केही बाहिरी जिल्लाबाट पर्यटकहरु घुम्न आइरहेका छन् । केही मात्रामा भारतीय र चिनियाँ पर्यटक आउन सुरु भएको उनको भनाइ छ । उनले सबैलाई एकचोटी चन्द्रगिरिको आनन्द लिन आउन आग्रह गर्दै आवश्यक मापदण्डमा सवै किसिमका पर्यटकलाई स्वागत गर्न आफु तयार रहेको बताए ।

उकुसमुकुस पछि चन्द्रागिरिमा मस्ती

यतिबेला आम नागरिक कोरोना महामारीको चपेटामा छन् । लामो समयदेखि घरमै थुनिएर रहन परेको अवस्था छ । अफिसियल काम गर्ने मानिसहरु समेत होमसिक भएको बेला चन्द्रागिरिको फुल मस्तीले उपत्यका संगै नजिकका जिल्लाहरुबाट आन्तरिक पर्यटकहरु आउने भिड सुरु भएको छ । पहिलो दिनमै झण्डै २ हजारको उपस्थितीले आगामी दिनमा चन्द्रागिरि भ्रमण गर्ने संख्या पहिलेकै अवस्थामा आउने आशा रहेको शाहले अनलाइनकेन्द्रसंग बताए ।

शनिबार पनि के बृद्ध, के बालक, के परिवार, के युगल जोडी सबै आफ्नै मस्तीमा थिए । कोही भालेश्वरको मन्दिरको आडमा फोटो खिचाउदै थिए त कोही पृथ्वीनारायण शाहको शालिकमा उभिएर तस्विरको आनन्द्य लिदै थिए । मौसम खुलेकोले उपत्यकाको मनमोहक दृष्य खुलेकोले पर्यटकहरु थप उत्साहित थिए । बालउद्यानमा बालबालिकाको रमाइलो छुट्टै थियो भने वाल क्लामिङ गर्नेहरु हस्याङफस्याङ गरिरहेका थिए । कोही घोडा सवारीमा व्यस्त थिए । लामो समयपछि खुल्ला आकाशमा हरियाली हेर्दै रमाइलो गर्नेको भिड उत्साहित र प्रफुल्लित थियो ।

आन्तरिक पर्यटकले भरिए रिसोर्टका कोठा

शनिबार चन्द्रागिरि केवलकार चढेर भालेश्वरको दर्शन गरेर करिब १ किलोमिटर तल रहेको चन्द्रागिरी लक्जरियर्स रिसोर्टमा आनन्द लिनेको भिड पनि ठुलै थियो । पछिल्लो समय आन्त्रिक पर्यटकलाई केन्द्रित गरेर रिसोर्टले ल्याएको प्याकेजले पनि धेरैको ध्यान तानेको देखिन्थ्यो । एक जोडीको लागि केवलकार यात्रादेखि ब्रेकफास्ट,एकदिनको लागि सुत्ने लक्जरियर्स कोठा,स्विमिङको आनन्दका लागि एकदिने प्याकेजको अहिले ९ हजार रुपैया तोकिएको छ ।

रिसोर्ट म्यानेजर श्याम तण्डुकारले अनलाइनकेन्द्रसंग कुराकानी गर्दै भने–”अहिले हामीले हाम्रा आन्त्रिक पर्यटकलाई ख्याल गरेर यो प्याकेज ल्याएका छौँ, सुरुवातमा यही सुविधा बराबर १६ हजार रुपैया थियो । तर यो महामारीको बेला सबैलाई कम्र्फट हुने खालको प्याकेज ल्याएका हौँ । हाम्रो ठुला क्षेत्रमा फैलिएका रिसोर्ट सञ्चालन गर्न यो रकम सामान्य हो तर हामीले आम ग्राहकको अहिलेको अवस्थालाई मध्येनजर गरेनै यो प्याकेज ल्याएका हौँ । ”

तण्डुकारले एकदिन भरी घुमेर जाने र एक वा दुई दिन रिसोर्टमै बस्नेगरी आउने पर्यटकलाई लक्षित गरेर प्याकेज ल्याएको बताए । काठमाडौँ उपत्यकालाई नियाल्दै स्विमिङ गर्दै छिनमै कुहिरोको चिसो,छिनमै पारिलो घामको मज्जासंगै शान्त,मनोरम दृश्यका साथै बिहानको हाइकिङ,वाकिङको आनन्द लिन पाइने रिसोर्टमा आउनको लागि चन्द्रगिरि केवलकारको माथिल्ल्लो स्टेशनमै माइक्रो रिसिभ गर्न आइपुग्छ । रिसोर्टमा काम गर्ने कर्मचारी पनि सबै कोरोनाविरुद्धको खोप लगाएपछि ढुक्कले काम गर्ने वातावरण बनेको तण्डुकारले बताए । रिसोर्टमा स्पा समेतको सुविधा रहेको छ । अहिले शुक्रबार र शनिबार खासगरी घुम्न आउनेको संख्या धेरै छ । शनिबार पनि १०० वटा कोठामा ८५ बढी कोठाहरु बुक थिए । रिसोर्टमा ४ वटा बिल्डिङ भएकोले कोरोना महामारीबाट बच्ने प्रोटोकल अनुसार प्रत्येक संरचनामा संख्याको आधारमा पारिवारिक र सिंगलरडबल गरी फरक–फरक ब्लकमा राख्ने गरेको म्यानेजर तण्डुकारले बताए ।

संम्बन्धित समचार

Leave a Reply