नोभाक जोकोभिच युएस ओपनको फाइनलमा

भदौ २६, काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई पराजित गर्दै जोकोभिच फाइनलमा प्रवेश गरेका हुन् ।

रोमान्चक बनेको खेलको पहिलो सेटमा एलेक्सजेन्डरले ६-४ ले आफ्नो बनाए । तर, त्यसपछिको दुई सेट जोकोभिचले ६-२ र ६-४ ले आफ्नो बनाए । चौंथो सेट एलेक्सजेन्डरले ६-४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौ सेटमा ६-२ को जित निकाल्दै जोकोभिक उपाधि नजिक पुगेका हुन् ।

अब जोकोभिचले उपाधिका लागि रुसका डानियल मेदभेदेबसँग खेल्नेछन् । डानियलले क्यानडाका फेलिक्स अगरलाई हराउँदै फाइनल यात्रा तय गरिसकेका छन् ।

दोस्रो वरीयताका डानियलले फेलिक्समाथि ६-४,७-५ र ६-२ को सेटमा पराजित गरे ।

३४ वर्षीय जोकोभिच कीर्तिमानी २१ पटक ग्रान्डस्लाम जित्ने योजनामा रहेका छन् । युएस ओपनको उपाधि जितेमा जोकोभिचले कीर्तिमान बनाउने छन् ।

महिलातर्फको उपाधिका लागि एम्मा राडुकानु र लेला फर्नान्डेजबीच प्रतिस्पर्धा हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply