दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश आज भिड्दै

भदौ २७, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

बिहीबार भएको पहिलो खेलमा नेपालले २-१ को जित निकालेको थियो । नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेकी थिइन् । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।

एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ ।

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

(Visited 2 times, 2 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?