पेरु क्रान्तिका नेता गोन्जालोको जेलमै निधन

भदौ २७, एजेन्सी । पेरु क्रान्तिका नेता गोन्जालोको जेलमै रहेको अवस्थामा निधन भएको छ । बिबिसीका अनुसार विद्रोही समूह ‘साइनिङ पथ’का नेता अबिमायल गुजम्यानको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो । उनलाई धेरैले अध्यक्ष गोन्जालो भनेर चिन्थे ।

दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालोलाई सन् १९९२ मा पक्राउ गरिएको थियो । अदालतले उनलाई आतंकवाद र अरू अपराधमा दोषी ठहर गरेको थियो। त्यसपछि उनी आजीवन काराबासको सजाय भोगिरहेका थिए ।

गत जुलाईमा उनको स्वास्थ्यमा समस्या देखिएपछि जेलबाट अस्पताल पठाइएको थियो ।

कम्युनिष्ट र माओ विचारधाराबाट प्रभावित गोन्जालोले सन् १९६९ मा साइनिङ पथ नामक समूह बनाएका थिए । उक्त समूहले पछि पेरूको सरकारविरूद्ध विद्रोह छेडेको थियो । बुर्जुवा प्रजातन्त्रलाई फालेर कम्युनिष्ट राज्य स्थापना गर्ने उनीहरूको लक्ष्य थियो ।

एक दशकभन्दा बढी चलेको साइनिङ पथ र पेरूको सरकारबीचको युद्धमा झन्डै ७० हजार मानिस मारिएका थिए ।

सन् १९९२ मा गोन्जालो राजधानी लिमाबाट पक्राउ परेका थिए । उनको पक्राउपछि साइनिङ पथ समूहलाई निकै ठूलो धक्का लागेको थियो । उक्त समूहका धेरै सदस्यले पछि सरकारसँग आत्मसमर्पण गरेका थिए ।

अहिले पनि सानो संख्यामा साइनिङ पथका सदस्यहरू पेरूमा सक्रिय छन् ।

संम्बन्धित समचार

Leave a Reply