कांग्रेसमा पौडेल पक्षले छुट्टै भेला गर्दै

भदौ २८, काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरूको छुट्टै बैठक बस्ने भएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा छलफल गर्ने भएका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशन निष्पक्ष हुनेमा शंका देखिएकोले सभापति देउवालाई खबरदारी गर्न भेला बोलाइएको एक नेताले बताए ।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच नै प्रहरी, प्रशासनको बलमा वडा अधिवेशन गरिएकोमा पौडेल पक्षले विरोध गरेको छ ।

प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न जिल्ला गरी कूल २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता विवाद छ । भदौ १८ मा गर्ने भनेको वडा अधिवेशन असोज ५ सम्म धकेलिएको छ । अझै विवादित जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टी वेबसाइटमा राखिएको छैन ।

क्रियाशील विवाद देखिएका जिल्लामा तत्कालै विवाद हल गर्न आज दिउँसो २ बजे भेला गरेर छलफल गर्न लागिएको पौडेलको सचिवालय स्रोतले जनाएको छ ।

पौडेल पक्षले सभापति देउवा पक्ष कमजोर भएका जिल्लामा केन्द्रबाट नै क्रियाशील सदस्यको नाम राख्ने गरिएकोमा विरोध गरेको छ । जिल्लाबाट सिफारिस गरेर पठाइएका नाम हटाएर केन्द्रले नयाँ नाम थपेर क्रियाशीलको सूची सार्वजनिक गर्ने गरेकोमा पौडेल पक्षले विरोध गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply