बढ्दै निपाह जोखिम, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

भदौ २९, काठमाडौं । भारतमा निपाह भाइरसको सङ्क्रमण देखिन थालेपछि नेपालमा पनि सचेत रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए । भारतको केरला राज्यमा केही दिनदेखि एनआईभी भनिने निपाह भाइरसको सङ्क्रमण देखिएको छ ।

उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ ।

मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ । उनले रोगको लक्षण देखिएमा उपचार गरिने बताए । सङ्क्रमणको लक्षण देखिनासाथ नजिकै स्वास्थ्य संस्थामा उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ ।

के हो निपाहा भाइरस ?
निपाह भाइरस पशुबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । यो गम्भीर प्रकृतिको सङ्क्रामक रोग हो । प्राकृतिक रूपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा यो भाइरस पाइन्छ ।

चमेरो, बङ्गुरबाट निपाह भाइरस मान्छेमा सर्छ । सरुवा रोग विशेषज्ञहरूका अनुसार चमेराले खाएका फलफूलमा –याल मिसिन्छ र त्यस्ता फलफूल मानिसले खाएपछि सर्ने जोखिम हुन्छ । फ्रुट ब्याट जातको चमेरोले खाएको जुठो फलफूलबाट सर्छ । निपाह भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा पनि सर्छ । यस्तै सङ्क्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि सर्छ ।

निपाह भाइरसको सङ्क्रमण पहिलो पटक सन् १९९९ मा सिङ्गापुर र मलेसियामा पहिचान भएको थियो । त्यसपछि २१ मे २०१८ मा दक्षिण भारतीय राज्य केरलामा देखिएको थियो ।

त्यही फ्रुट ब्याट भाइरस पशुपन्छी तथा फलफूलको माध्यमबाट निपाह भाइरस सर्ने जोखिम हुने सरुवारोग विशेषज्ञहरूको भनाइ छ ।

लक्षण
मान्छेमा निपाह भाइरसको सङ्क्रमण भएमा यस्ता लक्षण देखिन्छन् । साता दस दिनपछि ज्वरो आउने, टाउको दुख्ने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या, स्मरण शक्तिमा कमी र मस्तिष्क सुनिने जस्ता लक्षण देखापर्छन् ।

निपाह भाइरसबाट कसरी जागिने ?
निपाह भाइरसको सङ्क्रमणबाट बच्नका लागि विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । निपाह भाइरस भएका बिरामीको स्याहार सम्भार तथा हेरचाह गरेपछि राम्रोसँग साबुनपानीले हात सफा गर्नुपर्छ । त्यस्तै, बङ्गुर तथा सुँगुरको नजिक जाँदा सचेत हुने, चमेराले जुठो हालेका फलफूल नखाने, फलफूल राम्रोसँग पखालेर मात्रै खाने, गाईवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्रै पिउने, बेलाबेलामा साबुन पानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्छ । यदि निपाहा भाइरसको लक्षणको जस्तो देखिएमा सङ्क्रमण भएको हो कि होइन भनेर प्रयोगशालामा पीसीआर वा एलैजा विधिको प्रयोग गरेर रगत, पिसाब, नाक, कान र घाँटीको परीक्षण गराउने गर्नुपर्छ ।

यसको औषधि छ कि छैन ?
निपाह भाइरसबाट लाग्ने रोगको उपचार छैन । हालसम्म यो भाइरसको औषधिको विकास भएको छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो भाइरस विरुद्धको औषधि पत्ता लागेको छैन । यस्तै निपाह भाइरसविरुद्धको खोप पनि विकास भएको छैन । यो रोग लागेपछि आईसीयूमा राखेर उपचार गर्नुपर्छ । विशेषज्ञका अनुसार यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमामा जान सक्छन् । यो भाइरसबाट रोग लागेका मध्ये ७० प्रतिशत मानिसको मृत्यु हुनेगरेको पाइन्छ ।

संम्बन्धित समचार

Leave a Reply