बाग्मतीका मुख्यमन्त्री शाक्यलाई एक साता हाईसन्चो

भदौ ३०, काठमाडौँ । बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा छ । अल्पमतका बावजुद गठबन्धन दलले नयाँ बन्ने सरकारमा मुख्यमन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा शाक्य नेतृत्वको सरकार लम्बिएको छ ।

सरकार लम्बिएसँगै मुख्यमन्त्री शाक्यलाई एकसाता हाइसन्चो भएको छ । विपक्षी गठबन्धनको बैठकले बर्तमान सरकारलाई सदनबाट विश्वासको मत लिन एक साता समय दिने सहमति भएसँगै शाक्यलाई हाईसन्चो भएको हो । एकल बहुमत रहेको एमाले विभाजन भएसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारलाई सदनबाट विश्वासको मत लिनुपर्ने बाध्यात्यमक अवस्था सिर्जना भएको छ ।

‘राजनीतिमा इमानदारिता हुन्छ । हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन एक साताको समय दिएका छौं । यस अवधिमा सदन बोलाएर विश्वासको मत लिने वातावरण बनेन भने हामी सरकार फेर्ने प्रक्रियामा अगाडि बढ्छौं,’ माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले भने । उनले मुख्यमन्त्रीले एक साताभित्र विश्वासको मत लिने प्रक्रिया अगाडि नबढाए अविश्वास प्रस्ताव दर्ता गरेर अगाडि बढ्ने सहमति विपक्षी दलहरूबीच भएको बताए ।

उनका अनुसार अविश्वासको प्रस्ताव दर्ता भएको बढीमा साता दिनभित्रमा प्रदेश सरकार फेर्ने गरी विपक्षी गठबन्धनले तयारी अगाडि बढाइसकेको छ । विपक्षी गठबन्धनलाई भावी मुख्यमन्त्रीको नाम छिनोफानो नहुँदा अविश्वासको प्रस्ताव अगाडि बढाउन समस्या भइरहेको छ ।

नयाँ बन्ने सरकारमा गठबन्धनमा आबद्ध दुई दलले दाबी गरेपछि गठबन्धनमा सहमति जुट्न सकेको छैन । नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीका लागि दाबी गर्दै आएका छन् ।

यता, मुख्यमन्त्री शाक्य भने तत्काल राजीनामा नदिने र विश्वासको मत पनि नलिने रणनीतिमा छन् । नेकपा एस पार्टीलाई निर्वाचन आयोगले मान्यता दिए पनि पार्टी विभाजनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै मुख्यमन्त्री शाक्यले तत्काल विश्वासको मत लिनु नपर्ने नेकपा एमालेको तर्क छ ।

एमालेले कारबाही गरिसकेका सांसदलाई समेत समेटेर नयाँ दल गठन गरिएको र त्यसविरुद्ध एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दिएको भन्दै एमालेका नेताहरू उक्त मुद्दाको टुङ्गो नलागेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिनु नपर्ने बताउँछन् ।

संविधानमा भने सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था छ ।

संम्बन्धित समचार

Leave a Reply