चीनले सीमा मिचेको लाप्चामै पुग्यो अध्ययन टोली

भाद्र ३०,काठमाडौँ । चीनले नेपालको सीमा मिचेर ठूलाठूला भवन बनाएको हुम्लाको लाप्चामा नेपाली सरकारी टोली पुगेर स्थलगत अध्ययन थालेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा सरकारी टोली अतिक्रमित सीमा क्षेत्रमा पुगेको हो ।

हुम्लाको नाम्खा गाउँपालिकामा पर्ने लाप्चामा सीमा मिचेर चीनले भवन बनाएको कुरा स्थानीय जनप्रतिनिधिहरूले गत वर्ष उजागर गरेपछि सीमा विवाद आएको थियो । लाप्चामै चीनले एकतर्फी रुपमा १२ नम्बर पिलर पुनर्निर्माण गरेकोसमेत आरोप स्थानीयको छ ।

चीनले एकलौटी रुपमा भवन बनाए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले जमिन नमिचेको भन्दै ढाकछोपको प्रयास गरेको थियो । तर कांग्रेस नेता जीवनबहादुर शाहीले आफै स्थलगत अध्ययन गरेर सरकारले ढाकछोप गरेको यथार्थ बाहिर ल्याएका थिए ।

कांग्रेस नेता शाहीको प्रतिवेदनका आधारमा शेरबहादुर देउवा नेतृत्वको सरकारले छानबिन समिति पठाएको हो । शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार लाप्चा गएको हो । समितिमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन् ।

लाप्चाबाट पैदल हिँडेर टोलीले पाँच हजार मिटर अग्लो स्थानमा रहेका सीमा स्तम्भहरूको स्थलगत अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । चीनले हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चासँगै रहेको लोलुङजोङमा भौतिक संरचना बनाएको र ती संरचना नेपाली भूमिमा रहेको भन्दै नेपाल सरकारले हालै सीमा अध्ययन टोली गठन गरेको थियो ।

टोलीले सम्भव भएसम्म हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भहरु पुग्ने जनाएको छ । हुम्लाको नाम्खा गाउँपालिका ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सीमास्तम्भ नम्बर १२ पर्छन् । सीमास्तम्भ नम्बर ५ (१) र (२), ६ (१) र (२), ७ (१) र (२), ८ (१) र (२), ९ (१) र (२), नाम्खा ५ को हिल्सा र किट क्षेत्रमा पर्छन् ।

त्यस्तै, नाम्खा ५ कै यारीभित्रको ह्याङ्सी क्षेत्रको याङ्जो भञ्ज्याङमा ३ नम्बर सीमास्तम्म भएको ठाउँ नजिकैको नुमुच्चैमा ४ नम्बर सीमास्तम्भ रहेको छ । हुम्लाको ८ ठाउँमा सीमा मिचिएको र सीमास्तम्भमा गडबड भएको तथ्य शाहीले बाहिर ल्याएका थिए ।

संम्बन्धित समचार

Leave a Reply