चीनमा भूकम्प: कम्तीमा तीनजनाको मृत्यु

भदौ ३१, काठमाडौं । चीनको दक्षिणपूर्वी सिचुआन प्रान्तमा बिहीबार सबेरै गएको भूकम्पमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले कम्तीमा तीन जनाको मृत्यु भएको र ६० भन्दा धेरै घाइते भएको बताएको छ । चीनले भूकम्पमा परेका मानिसको खोजी तथा उद्धारको लागि टोली पठाएको छ ।

सिचुआनमा बिहीबार स्थानीय समयअनुसार बिहान साढे चार बजे भूकम्पको धक्का महसुस गरिएको थियो । अमेरिकी जियोलोजिकल सर्वे (यूएसजीएस)का अनुसार यो भूकम्प ५.४ म्याग्निच्युडको थियो । तर, चीनले भने ६ म्याग्निच्युडको भूकम्प गएको बताएको छ । यसको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटर मुनि रहेको बताइएको छ ।

भूकम्पको कारण लुक्सियानमा दर्जनौं घरमा क्षति पुगेको छ । अधिकारीहरुले अब ठूलो परकम्प आउने सम्भावना कम रहेको बताएका छन् ।

सन् २००८ मा सिचुआन प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुने र वेपत्ता हुनेको संख्या ८७ हजार थियो । उनीहरुमध्ये विद्यालयको कमजोर भवनमा पढिरहेका हजारौं विद्यार्थी पनि थिए ।

संम्बन्धित समचार

Leave a Reply