ठड्याइयो इन्द्रध्वजा, सुरु भो इन्द्रजात्रा

असोज २, काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान शनिबार बिहान गरिएको छ । ६:५१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो ।

इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । असोज ८ गते नानिचा यात्रा गरिनेछ ।

त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।

कोभिड महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो । यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।

जात्राको तयारीस्वरूप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सम्पन्न गरिएको छ । तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ ।

संस्थानले कोरोना विरुद्धको खोप लगाएका व्यक्तिलाई मात्रै खटाउनेछ । १८ वर्षमुनिका बालबालिका, किशोरकिशोरी, वृद्धवृद्धा, खोप नलगाएका व्यक्ति र अपाङ्गता भएका व्यक्तिलाई जात्रामा छुट्टै राखिनेछ ।

आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव, समयबजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिक मूर्ति, नाच लगायतका धार्मिक गतिविधि हुने गर्दछन् ।

आज बेलुका यस वर्षभरि निधन भएका व्यक्तिका परिवारले ‘उपाकु’ दीप प्रज्ज्वलन गर्दै सांस्कृतिक नगर परिक्रमा गर्ने गर्दछन् ।

संम्बन्धित समचार

Leave a Reply