भारतमा किसान हत्याकाण्डको आरोपमा गृह राज्यमन्त्रीका छोरा पक्राउ

असोज २४, एजेन्सी । भारतमा केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रा टेनीका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ ।

उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाको तिकुनियामा आफ्ना बुवालाई कालो झन्डा देखाउन खोज्ने किसानलाई गाडीले किचेर मारेको आरोपमा मिश्रालाई पक्राउ गरिएको बिबिसी हिन्दीले जनाएको छ । तिकुनिया कैलाली जिल्लाको सीमावर्ती क्षेत्र हो ।

शनिबार लगभग १२ घन्टा सोधपुछ गरेपछि मिश्रालाई पक्राउ गरिएको उत्तर प्रदेशका डिआइजी उपेन्द्र अग्रवालले जानकारी दिएका छन् । गृह राज्यमन्त्री मिश्राका छोरालाई हत्या, हत्याको योजना बनाएको लगायत विषयमा मुद्दा दर्ता गरिएको छ ।

३ अक्टुबरमा भएको उक्त घटनामा चार जना किसानको मृत्यु भएको थियो । त्यसपछि भड्किएको हिंसामा परी दुई जना भाजपाका कार्यकर्ता, एकजना आशिष मिश्राको गाडी चालक र एक जना स्थानीय पत्रकार पनि मारिएका छन् ।

भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा गत वर्षदेखि नै आन्दोलन हुँदै आएको छ । पञ्जाब, हरियाणा, राजस्थान, महाराष्ट्र, गुजरातसहितका राज्यका किसानहरु आन्दोलनमा सहभागी भएका छन् ।

संम्बन्धित समचार

Leave a Reply