दसैं मनाउन उपत्यका छाड्ने बढ्दै, आजसम्म नौ लाख यात्रु बाहिरिए

आश्विन २६, काठमाडौँ ।  दसैँ, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ । असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन् । यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का महासचिव सरोज सिटौलाले बताए।

उनका अनुसार दसैँको अघिल्लो दिनसम्ममा झण्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उनले भने, “दुईतीन दिनमा उपत्यका छाड्नेको सङ्ख्या अझै बढ्नेछ ।”

दुईवर्ष पहिलेसम्म २५ लाखभन्दा बढीले दसैँको समयमा उपत्यका छाड्ने गरेका थिए । गतवर्ष कोभिड– सङ्क्रमणको जोखिम रहेकाले त्यो सङ्ख्या ह्वात्तै घटेको थियो । झण्डै चारपाँच लाखले मात्रै गतवर्ष उपत्यका छाडेको अनुमान गरिएको थियो । यो वर्ष गत वर्षभन्दा बढी यात्रु भए पनि सामान्य अवस्था भन्दा धेरै कम छन् । उनले भने, “अघिल्लो वर्ष अग्रिम टिकट नै खुलाइएको थिएन, अहिले खुलाइएको छ ।”

सरकारले घटस्थापना ९असोज २१० देखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको छ । यातायात व्यवसायीले सोही दिनदेखि अग्रिम टिकट खुलाएको थियो । यात्रुलाई समस्या नहोस् भनी ठाउँठाउँमा विभिन्न स्थानमा सहायता कक्ष रहेका छन् ।

घटस्थापनाको केही दिनसम्म पनि कार्यालय सञ्चालन हुने भएकाले सार्वजनिक बिदादेखि नै उपत्यका छाड्नेको सङ्ख्या बढ्ने गर्छ । यतिबेला यात्रु एकोहोरो जाने मात्रै धेरै रहेको महासचिव सिटौलाले बताए ।

 

संम्बन्धित समचार

Leave a Reply