संसद चलाउनका लागि संवादको विकल्प छैन : सभामुख सापकोटा

आश्विन २७,काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन् । सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताएका छन् । बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए ।

सभामुख सापकोटाले भने, ‘ढिलो चाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ । दसैँको अवसरमा छौँ, यो अवसरले हामी सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो । मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरूले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ, जतिसुकै ठुलो समस्या भए पनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो । हाम्रो संसद्मा अहिले अलिकति समस्याहरू देखिएको छ, अवरुद्ध भइरहेको छ, १५ दिनको समय पनि छ, कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु ।’

संम्बन्धित समचार

Leave a Reply