बागमती र प्रदेश १ मा यसैसाता सरकार परिवर्तन हुने

कार्तिक २,काठमाडौँ । राजनितिक समिकरण फेरिएपछि प्रदेशमा यसै साता मुख्यमन्त्री पनि परिवर्तन हुने भएको छ । बागमती र प्रदेश १ मा अल्पमतमा परेका मुख्यमन्त्री फेरिने भएका हुन् । नेकपा एमाले विभाजनपछि दुवै प्रदेशका मुख्यमन्त्री अल्पमतमा परेका छन् । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । कार्तिक ४ गते (बिहिबार) बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतदान प्रक्रिया अघि बढाइने छ ।

यस्तै, प्रदेश १ प्रदेशसभाको बैठक कार्तिक ५ गते शुक्रबारका लागि आह्वान गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । सत्तारुढ दल विभाजन भएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण दुवै प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिन बाध्य भएका हुन् ।

बागमती प्रदेशसभामा कुन दलको हैसियत कति ?

बागमती प्रदेशमा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा परेको छ । १०९ सदस्यीय प्रदेशसभामा एमालेसँग ४३ सांसदमात्र छन् । बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ । तर, २३ सांसद रहेको नेकपा माओवादी केन्द्र, २२ सांसद रहेको नेपाली काँग्रेस र १३ सांसद रहेको नेकपा एकीकृत समाजवादीसहितका पार्टीले प्रदेशमा पनि केन्द्रकै गठबन्धनलाई निरन्तरता दिएका छन् । जसले गर्दा प्रदेशसभामा यी तीन दलका ५८ सांसद हुन्छन् । यो संख्या प्रदेशसभाको पूर्ण बहुमत हो ।

बागमती प्रदेशसभामा विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र जसपा नेपालका एक सांसद छन् । जसपा पनि काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनमा सामेल छ । त्यसैले मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने आधार देखिँदैन ।

प्रदेश १ मा कस्तो छ समिकरण ?

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने आधार देखिँदैन । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक हुन्छ । तर सत्तारुढ दल नेकपा एमालेसँग ४१ सांसदमात्र छन् ।

अर्कोतिर विपक्षी गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १० र जसपा ३ सांसद छन् । विपक्षी गठबन्धनसँग ४९ सांसद भएका कारण प्रदेश १ का मुख्यमन्त्री आचार्यले पनि विश्वासको मत हासिल गर्न असम्भव देखिएको हो । प्रदेशसभामा राप्रपाका एक, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् ।

संम्बन्धित समचार

Leave a Reply