ट्रम्प शैलीले कांग्रेस महाधिवेशन अनिश्चित : वरिष्ठ नेता पौडेल

कार्तिक २, धादिङ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशनविना देशमा कुनै पनि निर्वाचन सम्भव नरहेको भएका छन् । कांग्रेसको पहिलो काम महाधिवेशन सम्पन्न गरी पार्टीलाई वैधानिक संकटबाट जोगाउनु रहेको उनले बताए । ‘कोही पनि द्विविधामा नपर्नु, वैधानिकता प्राप्त नगरेको पार्टीले टिकट बाँडे पनि मान्य हुनेछैन । त्यसैले कांग्रेसको पहिलो काम महाधिवेशन सम्पन्न गर्नु हो,’ पौडेलले भने ।

कांग्रेस सभापतिका लागि आकांक्षी धेरै भए पनि आपसी छलफलबाट एकजना मात्र उम्मेदवार अगाडि बढाउने पौडेलले बताए । उनले भने, ‘बाहिर जे–जस्तो हल्ला भए पनि हामी सामूहिक नेतृत्वको पक्षमा छौँ । कांग्रेसमा शुद्धीकरण र निखार ल्याई महाधिवेशन मंसिरमै सम्पन्न हुन्छ । कांग्रेसको आजको एजेन्डा लोकतन्त्र हो, लोकतन्त्रकै लागि हामी लडिरहेका छौँ, लोकतन्त्रमाथि बारम्बार आक्रमण भइरहेको छ । लोकतन्त्रको लडाइँ लड्न बाँकी भएकोले राष्ट्रपतिको सुविधासमेत स्वीकार नगरेको हुँ ।’

कांग्रेसमा पुस्तान्तरणभन्दा पनि रुपान्तरणको खाँचो रहेको उनले बताए । उनले भने, ‘कांग्रेसमा भएको विकृति, विसंगति, वितण्डा अन्त्य हुनुपर्छ । त्यसैले, महाधिवेशनको लडाइँमा छौँ ।’ सत्तामा बसिरहनुपर्ने ट्रम्प शैलीले महाधिवेशन अनिश्चित बनेको उनले बताए ।

अमेरिकाको राष्ट्रपति ट्रम्पको सिको गर्दै केपी ओलीले कुर्सी नछाड्ने, छाड्न परे कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको उनले बताए । आफूले विघटन गरेको संसद् सही साबित गर्न एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको पौडेलको दाबी छ ।

महामन्त्री शशांक कोइरालाले पनि चुनावअघि नै महाधिवेशन गर्नुपर्ने बताए । ‘महाधिवेशनको सँघारमा छौँ । चुनाव हुने सम्भावना पनि देखेका छौँ । तर, महाधिवेशनअघि चुनावको सम्भावना छैन,’ कोइरालाले भने ।

संम्बन्धित समचार

Leave a Reply