प्रदेश-१ को मुख्यमन्त्रीको छिनोफानो आज

कार्तिक ०७, काठमाडौँ । प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे बस्‍दैछ ।

आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजन हुने कार्यसूची छ । शुक्रबारको प्रदेश सभा बैठकमा मुख्‍मन्‍त्री आचार्यले विश्वासको मत माग्‍दै प्रस्ताव प्रदेश सभामा टेबुल गरेका गरेका थिए ।

बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन गर्ने सहमति भएको थियो । सोहीअनुसार आज मत विभाजन गर्न लागिएको हो ।

आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका थिए । एमालेका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेर दल विभाजन भएपछि उनी मुख्यमन्त्री भएलगत्तै अल्पमतमा परेका थिए । प्रदेश सभाको वर्तमान राजनीतिक समीकरणअनुसार उनले विश्‍वासको मत नपाउने निश्‍चित छ ।

एमालेसँग सभामुखसहित ४१ सांसद छन् । ९२ सदस्यीय प्रदेश सभामा सरकार टिकाई राख्न मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन चाहिन्‍छ ।

संम्बन्धित समचार

Leave a Reply