फाइजर खोप नेपाल आइपुग्दै, दिर्घ रोगीलाई लगाइने

कात्तिक ०८, काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिन लागेको कोभिड-१९ विरुद्धको खोप आज नेपाल आइपुग्दै छ । अमेरिकाले अनुदान स्वरुप उपलब्ध गराएको १ लाख ६२० डोज कोभिडविरुद्धको फाइजर खोप आज नेपाल आउन लागेको हो ।

यसअघि अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार डोज कोरोना खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर खोप १२ वर्षभन्दा माथिका उमेर समूहमा प्रभावकारी हुने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले यो खोप थोरै मात्रामा आएकाले दीर्घ रोगीलाई लगाइने बताए । अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी छ । त्यो खोप आएपछि बालबालिकालाई लगाइने सरकारको तयारी छ ।

फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । यो खोप भण्डारणका लागि चार वटा फ्रिज युनिसेफमार्फत् यसअघि नै नेपाल ल्याइसकिएको छ ।

संम्बन्धित समचार

Leave a Reply