रोकिएका कामदार कोरिया जाँदै, नयाँ कामदारका विषयमा भने मौन

कार्तिक १०, काठमाडौँ । करिब बीस महिनादेखि रोकिएका नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । पुराना कामदारलाई लैजाने व्यवस्था गरेसँगै रोकिएका कामदार जान लागेका हुन् ।

कोरियामा चार वर्ष काम गरी नेपाल फर्केका कामदार कोरिया प्रवेश पाउने व्यवस्था कोरिया सरकारले गरेपछि नेपालबाट एक सय १९ जना कामदार जान लागेका छन् । जसमध्ये बुधबार पहिलो चरणमा ४८ कामदार कोरिया जान लागेका छन् । उनीहरुलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ ।

कोरियामा चार वर्ष काम गरी फर्केका एक सय १९ जना कामदार रहेको कोरिया शाखाले जनाएको छ । कोरोना महामारीका कारण कोरियाले विदेशी कामदारलाई प्रवेशमा रोक लगाएको थियो ।

पुराना कामदारलाई कोरिया प्रवेश खुला गरेको हो । पुराना रोजगारदाता कम्पनीले रोजगारीका लागि बोलाएमा मात्रै जान पाउने व्यवस्था गरेको कोरिया शाखा प्रमुख सुरेश राउतले बताए ।

तर, नेपालबाट नयाँ कामदार लैजाने विषयका भने कोरिया सरकार मौन रहेको छ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नयाँ कामदारका विषयमा भने अनिश्चित छ । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply