इसेवालाई ‘संस्थागत अभिकर्ता’को लाइसेन्स

कार्तिक ११, काठमाडौं । बीमा समितिले इसेवालाई कर्पोरेट अभिकर्ताको लाइसेन्स दिएको छ । समितिले इसेवालाई ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८’ अनुसार लाइसेन्स दिएको हो । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अव विभिन्न बीमा कम्पनीहरुको बीमा पोलिसी बिक्री गर्न पाउने छन् ।

भुक्तानी सेवा प्रदायक मध्ये इसेवाले पहिलो लाइसेन्स लिएको हो । संस्थागत अभिकर्ताको लाइसेन्स पाए सँगै इसेवाले अव बीमितसँग बीमा शुल्क संकलन गरी बीमा कम्पनीलाई भुक्तानी गर्न सक्ने छ । इसेवाले अभिकर्ताको काम गर्नका लागि सधै कार्यालय खोलेर राख्नु पर्नेछ । यदि बीमितले यस्तो संस्थामा आएर बीमा कम्पनीको बारेमा बुझ्न चाहेमा वा आफुले बीमा गरेको कम्पनीको बारेमा बुझ्न चाहेमा बुझाउनु पर्नेछ ।

त्यस्तै बीमा प्रस्ताव फारम भर्न सहयोग गर्न पाउने छ । बीमा शुल्क भुक्तानी हुने समयको जानकारी दिने र पुनः बीमा गर्नुपरेमा सहयोग गर्न सक्ने छ । बीमा कम्पनीको तर्फबाट बीमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउनेछ । समितिले समय समयमा तोके बमोजिम अन्य कार्यहरु गर्न सक्ने छ । तर इसेवाले आफ्ना ग्राहकहरुलाई बीमा पोलिसी खरिद गर्न बाध्य पार्न पाउने छैन ।

यस्ता संस्थाले बीमितको अण्डराइटिङको काम गर्न पाउदैनन् । अण्डराइटिको काम बीमा कम्पनी स्वयंमको हुनेछ । यहि निर्देशिकाको अधिनमा रही पछिल्लो समय संस्थागत अभिकर्ताको लाइसेन्स लिने क्रम बढेको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply