कर्णाली र प्रदेश एकले आज नयाँ मुख्यमन्त्री पाउँदै

कात्तिक १६,काठमाडौँ । कर्णाली र प्रदेश एकले आज नयाँ मुख्यमन्त्री पाउँदैछन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरी आज बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गरेका छन् ।

माओवादी केन्द्रका तर्फबाट कर्णालीमा मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले हिजो मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । शाहीको राजीनामापछि कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार बन्दैछ । ४० जना सांसद रहेको कर्णाली प्रदेशसभा अहिले ३५ सदस्यीय छ । एमालेका चार सांसद कारबाहीमा परेपछि र माओवादी केन्द्रका एक सांसद एमालेमा गएपछि पद रिक्त छ ।

प्रदेश सभामा बहुमतका लागि १८ मत चाहिन्छ । माओवादीसँग १२ र कांग्रेससँग ६ सांसद छन् । यी दुई पार्टी मिल्दा बहुमत पुग्छ । कर्णालीमा नेकपा (एकीकृत सामाजवादी)का तीन जना सांसद छन् ।

यस्तै, प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश १ मा आज दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान भएको थियो । हिजो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै राईले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ । प्रदेश १ मा सरकार गठनका लागि ४७ सांसदको हस्ताक्षर भए पुग्छ । आज दिउँसो शपथग्रहणको तयारी छ ।

संम्बन्धित समचार

Leave a Reply