नागढुङ्गा–मुग्लिन सडक: एसियाली राजमार्ग मापदण्डको बन्दै, पुसबाट काम शुरु हुने

कात्तिक २६,काठमाडौँ । संघिय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ ।

तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनबरीसम्म कम्पनी छनोट गरी विस्तार कार्य शुरू गरिसक्ने सडक विभागका उपमहानिर्देशक तथा नागढुङ्गा–मुग्लिन राजमार्ग खण्ड विस्तार परियोजनाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए ।

रणनीतिक सडक पहुँच तथा व्यापारिक सुधार आयोजनाअन्तर्गत स्तरोन्नति गर्न लागिएको हो । विस्तारका लागि राजमार्गको नागढुङ्गादेखि नौबिसेसम्म पहिलो खण्ड (१२ किलोमिटर), नौबिसेदेखि मलेखुसम्म दोस्रो खण्ड (४३ किलोमिटर) र मलेखुदेखि मुग्लिनसम्मलाई तेस्रो खण्ड (४० किलोमिटर)का रूपमा छुट्याइएको छ ।

तीनवटै खण्डको कुल लम्बाइ ९५ किलोमिटर छ । विस्तारका लागि यस राजमार्ग खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्पन्न भई स्वीकृतसमेत भइसकेका छन् ।

उनले सो राजमार्ग विस्तारका लागि बोलपत्र आह्वान गरिएकोमा आवेदन दिएका कम्पनीहरूको प्रिक्वालिफिकेसन छनोट प्रक्रियासमेत पूरा भइसकेको जानकारी दिए । कम्पनीहरूले प्राविधिक प्रस्तावसहित आवेदन दिएका थिए ।

उनले भने, “प्रिक्वालिफिकेसन’को क्रममा प्राविधिक प्रस्तावमा समेत छनोट भएका कम्पनीसँग मागिएको आर्थिक प्रस्तावको अहिले मूल्याङ्कन कार्य भइरहेको छ ।” आर्थिक मूल्याङ्कनमा उत्कृष्ट भएका कम्पनीसँग सम्झौता गरी काम शुरू गरिने उनले स्पष्ट पारे। यो सडक एसियाली राजमार्ग मापदण्डअनुसार सात मिटर ‘क्यारिज–वे’ र एकदेखि दुई दशमलव पाँच मिटरसम्म ‘सोल्जर’सहित विस्तार गर्न लागिएको हो ।

मुलुकको करिब ६५ जिल्लाका मानिसको काठमाडौँ आवतजावत गर्ने मूलमार्ग यही नै हो । पोखरा–काठमाडौँ आवतजावत गर्ने सवारीसाधनसमेत यसै राजमार्ग भएर आवतजावत गर्ने भएकाले यस खण्डमा सवारीसाधनको चाप बढी हुने गर्दछ ।

आयोजना प्रमुख पोखरेलले भने, “पहिलो र दोस्रो खण्डको विस्तारका लागि क्रमशः ३१ र ३२ वटा निर्माण कम्पनीले आवेदन दिएकोमा उनीहरूको ‘प्रिक्वालिफिकेसन’ छनोट भई अहिले आर्थिक मूल्याङ्कन भइरहेको छ । ” उनले पहिलो खण्डको विस्तारका लागि दुई वर्ष र दोस्रोे र तेस्रो खण्डका लागि तीन÷तीन वर्ष समयावधि निर्धारण गरिएको जानकारीसमेत दिए । विस्तार कार्य सम्पन्न भएको पाँच वर्षसम्म राजमार्गको मर्मतसम्भार सम्बन्धित निर्माण कम्पनीले गर्नेछ ।

विश्व बैङ्कको आर्थिक सहयोगमा यो राजमार्ग विस्तार भइरहेको छ । यसका लागि नेपाल सरकार र विश्व बैङ्कसँग सन् २०२० मा सम्झौता भएको थियो । आर्थिक प्रस्तावमा सफल भएको कम्पनी छनोट गरेर विकास साझेदार विश्व बैङ्कमा स्वीकृतिका लागि पठाइने उनले जानकारी दिए । करिब १६ अर्ब रुपियाँको लागत विस्तार कार्य गर्न लागिएको हो ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले भौगोलिक विकटताका राजमार्गको यस खण्डको विस्तारमा एकरूपता नहुने स्पष्ट पार्दै विस्तारपछि पनि यो खण्ड चारदेखि छ लेनसम्मको हुने बताए । उनले भने, “सम्भव भएको ठाउँमा छ लेन र अन्य ठाउँमा चार लेनको मात्र हुनेछ । ” सडक त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गादेखि नौबिसेसम्म १२ दशमलव सात किलोमिटर र पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन करिब ८३ किलोमिटर रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply