चिसोसँगै बढ्यो काठमाडौँ उपत्यकामा वायू प्रदूषण

मंसिर ४, काठमाडौँ । काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा वायू प्रदूषणको जोखिम बढ्दै गएको छ । अरब सागरमा विकसित न्यूनचापीय प्रणालीका कारण भएको बदलीसँगै देशका प्रमुख सहरहरूमा प्रदूषण बढ्न थालेको हो । घाम नलाग्दा र पानी पनि नपर्दा प्रदूषण बढ्दै गएकाले मर्निङवाकमा ननिस्किन वातावरणीय स्वास्थ्यविज्ञले सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार वातावरण धुम्म हुँदा धुँवाधुलो तल्लो वायुमण्डलमा तैरिएर बसेको छ । ‘तल्लो वायुमण्डल चलायमान भएको छैन, यो समस्या काठमाडौंजस्ता देशका अन्य उपत्यका र तराईका ठूला सहरमा पनि छ,’ महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘घाम नलागे, हावा नचले वा पानी पनि नपरे प्रदूषण थप बढ्दै जान्छ ।’

मुलुकभर नै बदली हुँदा काठमाडौंसँगै पोखरा, वीरगन्ज, विराटनगर, जनकपुर, भैरहवा, नेपालगन्ज, धनगढीलगायत सहरमा प्रदूषण बढेको छ । शुक्रबार काठमाडौं उपत्यकामा सबैभन्दा बढी प्रदूषण कीर्तिपुर क्षेत्रमा रह्यो ।

वातावरण विभागको तथ्यांकअनुसार साँझ पौने ६ बजे कीर्तिपुरस्थित वायु गुणस्तर मापन केन्द्रमा वायु गुणस्तर सूचकांक पिएम–२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा १५२ पुगेको थियो, जुन अस्वस्थकर मानिन्छ । यो सूचकांक रत्नपार्कमा ११४ पुगेको थियो । पोखरामा भने २०० नाघेको थियो । यो सूचकांक २०० नाघ्नुलाई अति अस्वस्थकर र ३०० नाघ्नुलाई घातक मानिन्छ ।

मौसमविद्हरूका अनुसार तल्लो वायुमण्डल पृथ्वीको सतहदेखि १६ किलोमिटर उचाइसम्म रहन्छ । असिना पर्ने, तुवाँलो लाग्ने, शीत पर्ने, हुरीबतास चल्ले, मेघगर्जनलगायत मौसमी गतिविधि यही मण्डलबाट सञ्चालन हुन्छन् । अहिले यो मण्डल स्थिर बनेकाले प्रदूषण बढेको उनीहरू बताउँछन् । मौसमविद् पौडेलका अनुसार तत्काल ठूलो वर्षको सम्भावना पनि छैन ।

यस्तै, आज मौसममा आंशिक बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा सामान्य बद्ली भइ हल्का वर्षाको सम्भावना छ । यस्तै राति उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि वाग्मती, गण्डकी र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात हुनेछ । यस्तै न्यूनतम तापक्रम घट्न थालेपछि देशभर चिसो बढेर गएको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोभन्दा आज घटेको छ ।

हिजो यतिबेला काठमाण्डौको तापक्रम ११ दशमलव १ डिग्री सेल्सियस रहेकोमा आज ८ डिग्री सेल्सियस मापन गरिएको छ । आकाश खुलेसँगै न्यूनतम तापक्रम घट्न थालेको हो ।

संम्बन्धित समचार

Leave a Reply