आजबाट एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु हुँदै

मंसीर १०, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहमा हुँदैछ । ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा एमालेले जनाएको छ । उद्घाटन अघि विभिन्न स्थानबाट जुलूस निस्किने छन् । ती जुलूस नारायणी नदी किनारमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ । उद्घाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।

भीड व्यवस्थापनका लागि भन्दै स्थानीय प्रशासनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ खण्ड र नारायणगढको मुख्य बजारक्षेत्रभित्र आज बिहान ९ बजेदेखि अत्यावश्यक सेवाका बाहेक अन्य सबै सवारी साधन प्रवेशमा रोक लगाएको छ । उद्घाटन समारोहलाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

उद्घाटन समारोह सकिएपछि भोलिपल्टदेखि सौराहाको होटल सेभेन स्टारमा बन्दसत्र आयोजना हुनेछ । बन्दसत्रमा २ हजार १७५ र पर्यवेक्षक १३० जना गरी कुल २ हजार ३०५ जना सहभागी हुने एमालेले जनाएको छ । महाधिवेशनका लागि देशभरबाट एमालेका प्रतिनिधिहरु चितवनमा भेला भएका छन् । यिनै प्रतिनिधिहरुले एमालेको नयाँ नेतृत्व चयन गर्नेछन् ।

हालसम्म अध्यक्ष पदमा केपी शर्मा ओली स्वाभाविक दाबेदार छन् । यद्यपि एमाले नेता भीम रावलले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply