विधान परिमार्जन गर्न माओवादीले ५ सदस्यीय उपसमिति बनायो

मंसिर १७, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहको र उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी गराए ।

यस्तै, राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि प्रवक्ता महराले जानकारी दिए । उनले राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरू बनाइएको बताए ।

बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताए ।

प्रवक्ता महराले लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्नको लागि स्थायी कमिटीले अनुमति दिएको बताए । उनले राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपाङ्गहरुको हकहीत सुरक्षित गर्ने निर्णय गरिएको पनि बताए ।

बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधि बनाएको बताउँदै केन्द्रिय प्रतिनिधिको संख्या थप्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रस्ताव तयार पार्ने जिम्मेवारीसमेत दिएको उनले बताए ।

संम्बन्धित समचार

Leave a Reply