स्मार्ट लाइसेन्सको साटो क्युआर कोड सहितको लाइसेन्स

मंसिर २३, काठमाडौं । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सहज बनाउन नसकेपछि विकल्पमा क्युआर कोड सहितको लाइसेन्स दिने योजनामा छलफल भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले स्मार्ट लाइसेन्सको विकल्पका रुपमा अहिले वितरण भैरहेको परीक्षणकालीन लाइसेन्सलाई नै मान्यता दिने विषयमा छलफल भैरहेको बताए ।

केही समयलाई अहिले १४ लाख कार्ड आइपुगेको जानकारी गराउँदै श्रेष्ठले त्यसपछि नयाँ कार्ड खरिद नगर्ने बताए । श्रेष्ठले आफु मन्त्रालयमा रहिरहे स्मार्ट लाइसेन्स हटाएर क्युआर कोड भएको लाइसेन्स जारी गर्ने बताए ।

यातायात व्यवस्था अहिले ट्रायल पास गरेपछि एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । क्युआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाएको एक वर्ष अवधिभर पाँचपटकभन्दा बढी ट्राफिक कारबाहीमा परेमा खारेज हुनेछ । पुनस् ट्रायल दिनुपर्छ । पाँचपटकसम्म मात्रै कारबाहीमा पर्ने चालकले स्मार्ट लाइसेन्स पाउनेछ ।

परीक्षणका रुपमा दिन थालिएको परीक्षणकालीन लाइसेन्स अधिकांश यातायात कार्यालयहरुले वितरण गर्न सुरु गरिसकेका छन् । सोही लाइसेन्सलाई अहिलेको स्मार्ट लाइसेन्स जसरी नै ५ वर्षका लागि मान्यता दिन लागिएको हो ।

२०१७ बाट कागजी लाइसेन्स हटाएर चिप प्रविधिमा आधारित लाइसेन्स वितरण सुरु गरिएको थियो । पूर्व तयारी नै नगरी कागजी लाइसेन्स हटाएर देशभर स्मार्ट लाइसेन्स अनिवार्य गरियो । सोही कारण लाइसेन्स सहज हुन सकेन । समयमा कार्ड खरिद गरेर छपाइ गर्न नसक्दा अहिले करिव चार लाख चालक स्मार्ट लाइसेन्सको पर्खाइमा छन् ।

अहिले चिप प्रविधिमा आधारित स्मार्ट लाइसेन्स अनिवार्य भएपनि उक्त चिप रिड गर्ने मेसिन नै छैन । ट्राफिक प्रहरीसंग रिड गर्ने मेसिन नभएका कारण सक्कली र नक्कली छुट्याउनै गाह्रो परेको छ । करिब २५ प्रतिशत लाइसेन्स नक्कली रहेको विभागका अधिकारीहरुको अनुमान छ । सोही कारण क्युआर वा बार कोडसहितको लाइसेन्स दिने योजना बनाइएको सचिव श्रेष्ठको भनाइ छ ।

उनले क्युआर वा बार कोड सहितको कार्ड दिने र उक्त कार्ड ट्राफिक प्रहरीले मोवाइल वा कार्ड रिडरबाट सहजै रिड गर्न सक्ने गरी सिस्टम विकास गरिने बताए ।

विभागका अधिकारीहरुका अनुसार स्मार्ट लाइसेन्सका लागि महंगो सफ्टवेयर, कार्ड र छपाइ गर्ने मेसिन चाहिन्छ । जुन नेपालमा उपलब्ध छैन ।

तर क्युआर वा बार कोड सहितको कार्ड नेपालमा सहजै छाप्न सकिन्छ । सोही कारण यस्तो कार्ड वितरण गर्ने योजना बनाइएको हो । अहिले अत्यावश्यक बाहेक स्मार्ट लाइसेन्स छपाइको काम रोकिएको छ । स्मार्ट लाइसेन्स छपाइका लागि आवश्यक पर्ने कार्डको स्टक नै सकिएपछि छपाइ रोकिएको हो ।

अहिले विभागले १४ लाख कार्ड ल्याएको छ । अर्डर अनुसारको गुणस्तर कायम भए/नभएको हेर्न टेष्ट गर्न लागिएको छ । १० दिनमा टेष्ट सकेर छपाइ सुरु हुने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

उनका अनुसार दुइ सिफ्टमा गरेर दैनिक १० हजार लाइसेन्स छाप्ने योजना छ । १४ लाख कार्डले ४ लाख ब्याक लक सकेर असारसम्मको माग धान्ने अनुमान गरिएको छ । त्यसपछि क्युआर वा बार कोड सहितको लाइसेन्स दिने योजना छ ।

संम्बन्धित समचार

Leave a Reply