प्रदेश २ : प्रदेशसभा बैठक अवरुद्ध

सिर २९, जनकपुरधाम । प्रदेश २ प्रदेशसभाको विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशको विरोधमा बैठक अवरुद्ध भएको हो । प्रदेशसभाको चालु अधिवेशनको पहिलो बैठकमा दलहरुको तर्फबाट धारणा राखेपछि सभामुख सरोज यादवले सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कृषि र विज्ञान प्रविधिसम्बन्धी अध्यादेश पेश गर्न समय दिएका थिए । लगत्तै लोसपा सांसदहरुले प्रदेश बैठक अवरुद्ध गरेका हुन् ।

लोसपा सांसद परमेश्वर साहले प्रदेश सभा अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउनु अलोकतान्त्रिक रहेको भन्दै यसलाई दर्ता हुन नदिने बताए । उनले अध्यादेश फिर्ता नहुँदासम्म संसद चल्न नदिने पनि बताए ।

सभामुख यादवले सरकारले अध्यादेश ल्याउन पाउने नियम भएको र कुन स्थितिमा ल्याएको भन्ने कुरा सरकारले जवाफ दिने भन्दै अवरोध नगर्न आग्रह गरेका थिए । तर लोसपा सांसदले अवरोध जारी राखेपछि प्रदेशसभा १५ मिनेटका लागि स्थगित भएको छ ।

संम्बन्धित समचार

Leave a Reply