माओवादी महाधिवेशनः प्रतिनिधिहरुले आज समूहगत छलफलका निष्कर्ष सुनाउँने

पुस १४, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्द सत्रको तेस्रो दिन आज समूहगत छलफलका निष्कर्ष पेश गरिँदैछ । २५ वटा समूहमा विभाजित महाधिवेशन प्रतिनिधिले हिजो दिनभर अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा छलफल गरेका छन् । छलफल नसकेका समूहले आज मध्यान्ह १२ बजेसम्म थप छलफल गर्न सक्नेछन् ।

दिउँसो १ बजेदेखि प्रज्ञा भवन कमलादीमै सुरु हुने बन्दसत्रमा समूहका नेताहरुले छलफलका निष्कर्ष पेश गर्ने अध्यक्ष मण्डलकी सदस्य रुपा महर्जनले जानकारी दिइन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ । सुझावहरु लिखित रुपमा पनि पेश गर्नुपर्ने छ ।

छलफलका क्रममा महाधिवेशन प्रतिनिधिले प्रचण्डको दस्तावेजलाई सकारात्मक रुपमा लिए पनि कार्यान्वयनमा आशंका गरेका छन् । समूहगत छलफलमा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष प्रचण्ड र विधान मस्यौदाबारे देव गुरुङले थप स्पष्ट पार्नेछन् ।

समूहगत छलफलबाट प्राप्त सुझावलाई समेत समेटेर प्रतिवेदन र विधान पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने महर्जनले जानकारी दिइन् । प्रस्तावित विधान मस्यौदामा १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरिने उल्लेख छ । केन्द्रीय कमिटीमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरिएको छ ।

हिजो बसेको स्थायी समिति बैठकले समावेशीतर्फको क्लस्टर मिलाउन विधान संशोधनका लागि गठित देव गुरुङ नेतृत्वको समितिलाई जिम्मेवारी दिएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply