‘कठपुतली’ ले पायो दर्शकको साथ: ८० प्रतिशत अकुपेन्सी कायम

पुस १७,काठमाडौँ । कोरोना महामारीका कारण करीब २ वर्ष बन्द भएर यसपालीको दशैंबाट खुलेका सिनेमा हलमा नेपाली फिल्मले सुखद व्यापार गर्न नसकिरहेको अवस्थामा शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन राजधानीका मल्टीप्लेक्सहरुमा फिल्मले ७५-८० प्रतिशत अकुपेन्सी कायम गरेको वितरक कम्पनीले जानकारी दिएको छ ।

शुक्रवारको ओपनिङ सुखद भएपछि काठमाडौंका मल्टीप्लेक्सहरुले शनिवारका लागि फिल्मको शोजमा भारी वृद्धि गरेका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रवारका लागि १४ शो दिएको थियो । शुक्रवारको व्यापार राम्रो भएपछि शनिवारका लागि २२ शो उपलब्ध गराएको छ । राजधानीका अन्य मेजर मल्टीप्लेक्सहरुले पनि शनिवारलाई शो बढाएका छन् ।

सिंगल थिएटरमा पनि फिल्म हेर्ने दर्शकको उपस्थिति सुखद रहेका जानकारी प्राप्त छ । शुक्रवार फिल्मीखबरको टिम राजधानीका विभिन्न हलमा पुग्दा फिल्म हेरेका दर्शकहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । पहिलो पटक स्तरीय नेपाली हरर फिल्म हेर्न पाएको बताउँदै दर्शकहरुले कलाकारहरुको अभिनय, कथावस्तु, निर्देशन, छायांकन, ब्याकग्राउन्ड स्कोर लगायतको प्रशंसा गरेका थिए ।

फिल्मका निर्माता पृथ्वी राना मगरले चिसोको प्रवाह नगरी फिल्म हेर्न विहानैदेखि हलमा दर्शकको उत्साहजनक उपस्थिति भएको देख्दा खुसी लागेको बताए । उनले भने( ‘फिल्म राम्रो बनेको छ भने दर्शकको साथ पाइन्छ भन्नेमा म विश्वस्त थिएँ । ‘कठपुतली’ ले यो कुरा प्रमाणित गरेको छ । माउथ पब्लिसिटी अत्यन्त बलियो भएकाले शनिवारबाट दर्शकको चाप झन् बढ्नेमा म विश्वस्त छु ।’

भिमसेन लामाले निर्देशन गरेको फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको छ । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूम खिचेको फिल्मको सह(निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । सम्पदा मल्लले लेखेको फिल्मले राजाहरुको शासन कालको कथा भन्छ । फिल्म हरर जनरामा बनेको हो ।

संम्बन्धित समचार

Leave a Reply