आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै

पुस २७, काठमाडौ । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सयऔँ जन्मजयन्ती हो ।

शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेकोलगायत योगदानको स्मरण गर्ने गरिन्छ ।

आज नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा काठमाण्डौको कमलादीबाट सांस्कृतिक झाँकी एवम् बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकामा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

दिउँसो राष्ट्रिय नाचघर जमलमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गर्ने तयारी छ । नेपाली सेनाले एकीकरण पदयात्रा गरी गोरखाबाट टर्च काठमाण्डौ ल्याएको छ । शाहले एकीकरणका बेला तय गरेको बाटोबाट सेनाले टर्च ल्याएको हो । हनुमानढोकामा राखिएको टर्च आज जङ्गी अड्डा लगिने सेनाले जनाएको छ ।

एकीकरण पदयात्राको टोली पुस २१ गते टर्च लिएर गोरखाबाट हिँडेको थियो । यसैबीच राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखेर ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न आजको दिनले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको राष्ट्रपतिले स्मरण गर्नुभएको छ ।

पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना व्यक्त गरी जनचाहना र प्रगतिसँग सरोकार नराख्ने प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताउनुभएको छ । आज सरकारले सार्वजनिक बिदा दिएको छैन । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका विभिन्न दल र नेताले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गर्दै आएका थिए ।

संम्बन्धित समचार

Leave a Reply