पुस ३०, काठमाडौ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यस अघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ । कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेश गर्न नपाएपछि मन्त्रालयभित्र मानिसको चाप घटेको हो ।
सिंहदरबारबाट सञ्चालन हुने अत्यावश्यक कामलाई प्रभाव नपर्ने गरी बिहीबारदेखि गरिएको प्रवेशको कडाइले सिंहदरबारभित्र कोरोनाको प्रसार कम हुने वातावरण सिर्जना भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए ।
गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार, सिंहदरबारमा देखिने भीडभाड कम भएकाले यसले कोरोना सङ्क्रमण नियन्त्रण गर्न सहज पुग्ने देखिएको छ ।खासै महìवपूर्ण काम नभए पनि भेटघाटकै लागि आउने मानिस मन्त्रालयहरूमा आउनबाट रोकिएका छन्, जसले गर्दा सिंहदरबारभित्र कोरोनाको सङ्क्रमण हुने डर निकै कम भएको छ । कोरोना सर्ने चरणमा पुगेका बेला यो व्यवस्था अझै केही समय यथावत् राख्नुपर्ने देखिएको छ ।