आर्मी ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लियो

माघ १, काठमाडौँ । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।

आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।

खेलको दशौँ मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । पेनाल्टी एरियाको बाँयातर्फबाट जगजितले क्रस गरेको बल पोस्टमा लाग्दै गोल भएको थियो ।

खेलको ४५ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २-० गोलको अग्रता दिलाए । जर्ज प्रिन्सको हेडर पासमा अनमार्क रहेका दिनेशले सहजै गोल गरे ।

दोस्रो हाफको सुरुआतमै फ्रेन्ड्सले एक गोल फर्कायो । आर्मीका डिफेन्डरको गल्तीमा एन्थोनीले गोल गर्दै खेल २(१ को स्थितिमा ल्याए ।

आर्मीका डिफेन्डर युद्द शाहीको ब्याक पासमा फ्रेन्ड्सका कप्तान प्रिजेनले उपलब्ध गराएको बलमा एन्थोनीले सहजै गोल गरे ।

खेलको ७१ औं मिनेटमा सुमनले गोल गर्दै आर्मीलाई ३(१ को अग्रता दिलाए । जगजितको कर्नरमा अनमार्क रहेका सुमनले हेड मार्फत गोल गरे । त्यसपछि थप गोल भएन र आर्मीले सहज जित निकाल्यो ।

यस जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले ९ खेलमा १७ अंक जोडेको छ । फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा रहेको छ ।
यस हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब बढेको छ ।
यता, अहिले थ्रीस्टार र संकटा क्लबबीच प्रतिस्पर्धा भैरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै टोली गोल रहित बराबरीमा खेलिरहेका छन ।

संम्बन्धित समचार

Leave a Reply