फिल्म ‘कठपुतली’: तेस्रो हप्तामा पनि हलमा बलियो उपस्थिति कायम

माघ २,काठमाडौँ । दुई ठूला विदेशी फिल्म ‘पुष्पा’ को हिन्दी डब र ‘स्पाइडर म्यान स् नो वे होम’ को चुनौतीका बीच पुष १६ गतेबाट प्रदर्शनमा आएको नेपाली हरर फिल्म ‘कठपुतली’ ले तेस्रो हप्तामा पनि मल्टीप्लेक्स र सिंगल थिएटरहरुमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ । अब्बल माउथ पब्लिसिटी र ओमिक्रोनको भयले विदेशी फिल्मको रिलिज रोकिँदा फिल्मले दर्शकको राम्रो साथ पाएको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले तेस्रो हप्तामा फिल्मलाई ९-१० शोज उपलब्ध गराएको छ । राजधानी र मोफसलका अन्य मल्टीप्लेक्सहरुमा पनि तेस्रो हप्तामा फिल्मको शो सुखद् छ । निर्माता पृथ्वी राना मगरले तेस्रो हप्तामा देशभरका मल्टीप्लेक्सहरुमा फिल्मको अकुपेन्सी ५० प्रतिशत रहेको बताए । उनी फिल्मको पहिलो र दोस्रो हप्ताको व्यापारबाट सन्तुष्ट छन् ।

निर्माता रानाले भने( ‘फिल्म राम्रो बनेको छ भने दर्शक हलसम्म आउनु हुन्छ भन्ने कुरा ‘कठपुतली’ ले प्रमाणित गर्‍यो । दुई ठूला विदेशी फिल्मका बावजूद पनि तेस्रो हप्तामा फिल्म हेर्न हलमा आउने दर्शकको संख्या घटेको छैन । फिल्म हेर्ने जति सबैले प्रशंसा गर्नुभएको छ । व्यापार पनि उत्साहजनक नै छ । निर्माताको रुपमा मेरो लागि योभन्दा ठूलो खुसी र सफलता अरु हुनै सक्दैन ।’

भिमसेन लामाको निर्देशन गरेको फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । जोएल फ्रूमले खिचेको फिल्मको सह निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन् । फिल्म हेर्ने हरेकले कथावस्तु, कलाकारको अभिनय र टेक्निकल पक्षको प्रशंसा गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply