मधेस प्रदेशमा तीन गुणाले बढे कोरोना संक्रमित, कोभिड अस्पताल शून्य

माघ ७,काठमाडौँ । मधेस प्रदेशमा पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना संक्रमित बिरामी वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमध्ये सबभन्दा बढी धनुषामा ३४७ जना संक्रमित छन । तर, कोभिड अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या शून्य जस्तै छ ।

जनकपुर स्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमति बिरामीको उपचारको लागि पुनः कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले सञ्चालन ल्याएको एक सय शैयाको कोभिड विशेष अस्पतालमा भेन्टिलेटर र आइसीयू २०/२० बेडको व्यवस्था रहेको प्रतिष्ठानका उपकुलपति प्रा।डा। रामकेवल साहले जानकारी दिए । तर, संक्रमितको संख्या अत्यधिक रहेको भए पनि अस्पतालमा विरामीको संख्या नहुँदा अन्य विरामीलाई राखेर उपचार सेवा दिइरहेको उनले बताए।

कहिलेकाँही एक/दुई जना संक्रमित बिरामी भर्ना हुन्छ, निको भएर गएपछि प्राय खाली नै छ, उनले भने ।
दैनिक ५० सिलिण्डरसम्म भर्न सक्ने क्षमताको अक्सिजन प्लान्टसमेत कोभिड विशेष अस्पतालमा जडान गरिएको उनले भने, थप अक्सिजन प्लान्ट जडानको तयारी गरिरहेका छौं । बिरामीको चाप नभएपनि आवश्यक स्वास्थ्यकर्मी जनशक्तिसहित तयारी अवस्थामा छौ । सो प्रतिष्ठानले अघिल्लो कोरोना कहरताका पनि कोभिड अस्पताल सञ्चालन गरेको थियो ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामका अनुसार यस प्रदेशमा पछिल्लो एकसाता यता कोरोना संक्रमितको बिरामी तीन गुणाले बढेको छ । प्रदेशका जिल्लाहरुमा पछिल्लो छ दिनमा सक्रिय संक्रमितको संख्या तेब्बर भएको छ । गत माघ १ गते ४४१ जना कोरोनाका सक्रिय संक्रमित बिरामी थिए भने ६ गते रातिसम्ममा सो संख्या १२ सय ११ पुगेको छ । गत १ गते सक्रिय संक्रमित संख्या ४४१, २ गते ५५४, ३ गते ७००, ४ गते ८९०, ५ गते १०१६ र ६ गते १२११ संक्रमित संख्या रहेको सो निर्देशनालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply