दोभानमा लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता

माघ ८, काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएको छ । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहित उनीहरूको बाहिरी वस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुंगामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नगरपालिका–५ को अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) दुवैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङको लेडिज कोट, कालो र खरानी रङका दुई जोर जुत्ता, कालो लेडिज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान दोभानमा मलामी गएका स्थानीले पुरुष र महिलाका लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए । छाडिएका सामग्रीको पहिचान उनीहरूका आफन्तले गरेका हुन् । परिवारका अनुसार कोइराला गत आइतबारदेखि र फुयाँल सोमबारदेखि घरबाट बेपत्ता छन् । फुयाँलका श्रीमती, एक छोरा र एक छोरी तथा कोइरालाकी एक छोरी छन् ।

‘उनीहरू शंकास्पद तरिकाले लुगा छाडेर बेपत्ता भएकाले हामीले सबै तरिका अपनाएर खोजी गरिरहेका छौं’, उनले भने ।

सुनकोसी नदीमा दुवैको खोजी भइरहेको जानकारी दिँदै प्रहरीले यसमा सघाउन सार्वसाधारणसँग आग्रह पनि गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply