दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन प्रण गरौं

माघ २३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गरेकी छन् ।

विद्या, वुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति विकास गर्ने, शिक्षामा लगानी अनुसारको प्रतिफल निकाल्ने र नवप्रवर्तनका लागि युवा पुस्तासँग राज्यले हातेमालो गरेर अघि बढ्नुपर्ने ठूलो चुनौती रहेको सन्देशमा उल्लेख गरेकी छन् ।

सन्देशमा उल्लेख छ‚ ‘समयले दिएको यस हाँकलाई स्वीकार्दै दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन आजको दिन हामी सबैले प्रण गर्नै पर्दछ ।’

वर्तमान सन्दर्भमा प्रारम्भिक बाल विकास तहदेखि, विद्यालय हुँदै विश्वविद्यालयसम्म नै शिक्षाको सामयिक सुधारका सवालहरू साझा राष्ट्रिय चासोका विषय हुन पुगेका बताउँदै राष्ट्रपति भण्डारीले शैक्षिक संस्थाहरूको सुधार, प्राध्यापक तथा शिक्षकहरूको सीप अभिवृद्धि र वृत्तिविकास, जीवनोपयोगी शिक्षा नीतिको निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासमा राष्ट्र, अभिभावक र शैक्षिक संस्थाहरूले गर्नुपर्ने समवेत प्रयासतर्फ हामीले आफूलाई निर्देशित गर्नुपरेको उल्लेख गरेकी छन् ।

सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु हो । विद्याले व्यक्तिको सामर्थ्य अभिवृद्धि गर्छ, सच्चरित्र दिन्छ, त्यसैले आजको दिन बालबालिकालाई विद्यारम्भ गराउँदा दिगो शिक्षा प्राप्त हुने जनविश्वास रहेको उनले बताएकी छन् ।

‘प्रकृति, संस्कृति र सभ्यताको त्रिवेणीका रूपमा रहेको वसन्त पञ्चमीलाई नेपालमा राजकीय महत्व प्राप्त छ‚’ सन्देशमा भनिएको छ‚ ‘आजको दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकता होइन, हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिहने पर्व हो । यसको गरिमालाई हामी सबैले आत्मसात गर्नुपर्दछ ।’

संम्बन्धित समचार

Leave a Reply