‘सबै पालिकामा उम्मेदवारी दर्ताको लागि तयारी पूरा’ : निर्वाचन आयोग

बैशाख १०,काठमाडौँ । निर्वाचन आयोगले सबै पालिकामा उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ताको तयारी पूरा भएको बताए ।

आयोगले भोलि र पर्सि बिहान ११ बजेदेखि बेलुकी पाँच बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । यस्तै आयोगले आफूलाई अनुकूल समयमा मनोनयन दर्ता गर्न अपिल गरेको छ । कतिपय ठाउँमा उम्मेदवारी दर्ताको लागि गोलाप्रथाबाट दलहरुलाई समय छुट्याएको भन्ने जानकारी आएको भन्दै आयोगले यसरी समय विभाजन नगर्न भनेको छ । आयोगले कानून बमोजिमको योग्यता पुगेका सबै नागरिक उम्मेदवार बन्न पाउने भन्दै निर्धारित दुई दिनमध्ये उम्मेदवारको अनुकूल समयमा उम्मेदवारी दर्ता गर्नुपर्ने जनाएको छ ।

यसअघिको पालिका चुनावमा मनोनयन दर्ता गर्नको लागि एक दिन मात्रै तोक्दा दल र कर्मचारी दुवैलाई चाप परेको कारण यो पटक दुई दिन समय तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले महिलालाई समावेशी ढंगले उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई आग्रह गरे ।

संम्बन्धित समचार

Leave a Reply