सुदूरपश्चिममा एक तिहाइ पालिकामा मात्रै गठबन्धनको तालमेल

बैशाख १४,काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनले गरेको स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति एक तिहाइ पालिकामा मात्रै कार्यान्वयन भएको छ ।

प्रदेशका ८८ वटा स्थानीय तहमध्ये २३ वटा पालिकामा मात्रै गठबन्धनका प्रमुुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको हो ।

अधिकांश पालिकामा तीन दलकाबीचमा सहमति नभएपछि नेपाली कांग्रेस र माओवादी केन्द्र तथा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले छुट्टाछुट्टै गठबन्धन गरेका छन् । तीमध्ये धेरै ठाउँमा दलहरूले एकअर्काविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । तर, नेताहरूले यसअघि सहमति भइसकेका पालिकामा भने सम्बन्धित दलबाहेकको उम्मेदवारी फिर्ता लिने विषयमा छलफल थालिएकाले समस्या हल हुने दाबी गरेका छन् ।

कैलाली

कैलालीका १३ वटै स्थानीय तहमा सत्तारुढ गठबन्धनमा आवद्ध प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्त उम्मेदवारी दिनेगरी सहमति गरेका थिए ।

सहमतिअनुसार कांग्रेस धनगढी उपमहानगरसहितका ७ वटा पालिका, माओवादी केन्द्र ४ वटा र एकीकृत समाजवादीको भागमा २ वटा पालिका प्रमुख परेको थियो । तर, मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेसले प्रमुख पाएका लम्कीचुुहा नगरपालिका र जानकी गाउँपालिकामा सहमति तोड्दै माओवादी केन्द्रले पनि उम्मेदवारी दिएको छ ।

लम्कीचुुहामा कांग्रेसको प्रदेश कमिटीले भक्तबहादुर थापा र केन्द्रीय कमिटीले सुुशीला शाहीलाई उम्मेदवार बनाउँदा माओवादी केन्द्रले लोकराज ढकालको उम्मेदवारी दर्ता गराएको छ ।

कांग्रेसको भागमा परेको जानकी गाउँपालिकामा परशुराम महतो कठरीया गठबन्धनका आधिकारिक उम्मेदवार बन्दा माओवादीले विष्णुुकुमारी बमको मनोनयन दर्ता गराएको छ ।

माओवादी केन्द्रले मात्र होइन भागबन्डाका क्रममा माओवादीको भागमा परेका पालिकामा नेपाली कांग्रेसले पनि सहमतिविपरीत बागी उम्मेदवार बनाएको छ । सहमतिअनुसार माओवादी केन्द्रले गौरीगंगा र भजनी नगरपालिका तथा कैलारी र मोहन्याल गाउँपालिका पाएको थियो ।

यी पालिकामा कांग्रेसले उपप्रमुखका उम्मेदवार उठाउने सहमती भएको थियो । तर, गौरीगंगा नगरपालिका र भजनी नगरपालिका बाहेक कैलारी गाउँपालिकामा कांग्रेसले उम्मेदवार उठाएको छ ।

माओवादी केन्द्रले निवर्तमान गाउँपालिका अध्यक्ष लाजुुराम चौधरीलाई अध्यक्षको उम्मेदवार बनाउँदा कांग्रेसका रामसमझ चौधरीले पनि मनोनयन दर्ता गराएका छन् । गौरीगंगा नगरपालिकामा उपप्रमुख कांग्रेसको भागमा परेपनि एकीकृत समाजवादी पनि निवर्तमान उपप्रमुख अञ्चला चौधरीलाई बागी उम्मेदवार बनाएको छ ।

एकीकृत समाजवादीको भागमा घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका परेको थियो तर चुुरे गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले पनि उम्मेदवार उठाएका छन् । अध्यक्षमा एकीकृत समाजवादीले लोकबहादुर सारुलाई उम्मेदवार बनाउँदा कांग्रेसले टीकाराम ढुङ्गाना जैशी र माओवादीले टेकबहादुर रजबारलाई बागी उठाएका छन् ।

कञ्चनपुुर

९ स्थानीय तह रहेको कञ्चनपुरमा सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको छुुट्टै गठबन्धन बनाए भने नेपाली कांग्रेसले सबै पालिकामा एकल उम्मेदवारी दिएको छ । तर, दुई दलबीच तालमेल भएकै पालिकामासमेत एकविरुद्ध अर्को दलले बागी उम्मेदवारी दिए ।

दुई दलबीच माओवादी केन्द्रले बेलौरी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी र बेलडाँडी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने सहमति भएको थियो ।

त्यस्तै एकीकृत समाजवादीले बेदकोट, भीमदत्त, दोधराचाँदनी र पुनर्वास नगरपालिकाको प्रमुखमा उम्मेदवार उठाउने सहमति भएको थियो । तर, कृष्णपुर नगरपालिकामा एकीकृत समाजवादी पार्टीले माओवादीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको छ । माओवादी केन्द्रका जोगराम चौधरीविरुद्ध एकीकृत समाजवादीका सुरेन्द्र बमको उम्मेदवारी परेको छ ।

माओवादीको भागमा परेको शुुक्लाफाँटा नगरपालिकामा आन्तरिक किचलोले आधिकारिक उम्मेदवारको विषयमा विवाद भएको छ । प्रदेश कमिटी अध्यक्ष उत्सव चौधरीले लोकबहादुर ऐरी र इन्चार्ज खगराज भट्टले नवराज ऐरलाई उम्मेदवार बनाएपछि त्यहाँ विवाद बढेको छ । ऐरीले आफू नै आधिकारीक उम्मेदवार भएको भन्दै ऐरविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुुरी दिएका छन् ।

दार्चुला

दार्चुलामा सत्तारुढ गठबन्धनका दुई दल कांग्रेस र माओवादी केन्द्रले मात्रै तालमेल गरेका छन् । तालमेल गरेकामध्ये कांग्रेसले ५ वटा र माओवादी केन्द्रले ४ वटा पालिकामा उम्मेदवारी दिएका छन् ।

कांग्रेसले माओवादीको समर्थनमा शैल्यशिखर र महाकाली नगरपालिका तथा दुँहुु गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा उम्मेदवारी दिएको छ । व्यास र मालिकार्जुन गाउँपालिकामा भने प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ ।

त्यस्तै माओवादी केन्द्रले लेकम, नौगाड, मार्मा र अपीहिमाल गाउँपालिकामा प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । गठबन्धनका दल एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पार्टीले भने पनि गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् ।
एकीकृत समाजवादीले भने एक्लै महाकाली नगरपालिका, अपी हिमाल र मार्मा गाउँपालिकामा मात्रै प्रमुख र उपप्रमुख दुवै पदमा उम्मेदवारी दर्ता गराएको छ ।

बैतडी

बैतडी जिल्लामा गठबन्धनका दलहरूले स्थानीय अनुकुलता अनुसार उम्मेदवारी दिएका छन् । जसअनुसार तीनवटा पालिकामा तीनवटै दलको सहमति छ भने एकएक पालिकामा दुईरदुई वटाले तालमेल गरेका छन् ।

जसमध्ये दोगडाकेदार गाउँपालिका प्रमुखमा कांग्रेसले र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ । डिलासैनी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रले र उपप्रमुखमा कांग्रेसले उम्मेदवारी दिएको छ । पञ्चेश्वर गाउँपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा समाजवादीले उम्मेदवारी दिएको छ । यी पालिकामा तीनवटै दलले एकअर्कालाई समर्थन गरेका छन् ।

त्यस्तै सुनर्या गाउँपालिका प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा माओवादीले उम्मेदवारी दिएको छ । पाटन नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ । तर, यी दुईवटै पालिकामा तेस्रो दलले गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छैनन् । जसअनुसार सुनर्या गाउँपालिकामा कांग्रेसले र पाटन नगरपालिकामा एकीकृत समाजवादीले आ(आफ्ना उम्मेदवार उठाएका छन् ।

बाँकी पाँचवटा पालिकामा भने गठबन्धनका सबै दलले एक्ला एक्लै उम्मेदवारी दर्ता गरएका छन् । जसमा दशरथचन्द र पुर्चौडी नगरपालिका रहेका छन् भने सिगास, मेलौली र शिवनाथ गाउँपालिका रहेका छन् ।

डडेल्धुरा

डडेल्धुराका दुईवटा गाउँपालिकामा मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेका छन् । अजयमेरु र गन्यापधुरा गाउँपालिका प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् ।

यसबाहेक परशुराम र अमरगढी नगरपालिका तथा भागेश्वर, नवदुर्गा र आलिताल गाउँपालिका मा गठबन्धनका दलहरूले एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।

डोटी

डोटीमा पनि गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीको मात्रै तालमेत भयो । बाँकी दलहरूले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाका ९ वटा स्थानीय तह रहेको डोटीमा माओवादी केन्द्रले ५ र एकीकृत समाजवादी पार्टीले ४ वटा पालिाकामा भागबन्डा गरेका छन् । जसअनुसार माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, केआईसिंह र बोगटान फुड्सिल गाउँपालिका तथा समाजवादीले शिखर नगरपालिका, पूर्वीचौकी, जोरायल र बड्डीकेदार गाउँपालिकामा उम्मेदवारी दिएका छन् । कांग्रेसले यी सबै पालिकामा एकल उम्मेदवार दिएको छ ।

अछाम

१० वटा स्थानीय तह रहेको अछाममा भने पाँच पालिकामा दुई दलीय गठबन्धन भएको छ । अन्यमा सबैले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । साफेबगर, मंगलसेन नगरपालिका र रामारोशन गाउँपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । यी सबै पालिकामा कांग्रेसले प्रमुख र समाजवादीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै चौरपार्टी गाउँपालिकामा माओवादी र समाजवादी तथा बान्नीगढ जयगढ गाउँपालिकामा काग्रेस र माओवादीले संयुक्त रुपमा उम्मेदवार उठाएका छन् । बाँकी रहेका पाँच पालिकामा भने गठबन्धनमा आवद्ध दलले एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।

बाजुरा

बाजुराका ९ पालिकामध्ये स्वामिकात्तिक र जगन्नाथ गाउँपालिका बाहेक अन्य स्थानीय तहमा गठबन्धनका दलले एकल उम्मेदवारी दिएका छन् । स्वामिकात्तिक गाउँपालिकामा समाजवादी र माओवादी केन्द्र तथा जगन्नाथ गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।

स्वामिकात्तिकमा समाजवादीले अध्यक्षमा चिरन्जीवी शाही र नेकपा माओवादी केन्द्रले उपाध्यक्षमा सुरेश रोकायालाई उम्मेदवार बनाएको छ भने जगन्नाथमा कांग्रेसले सुन्दर विष्ट र माओवादीले उपाध्यक्षमा महेश शाहीलाई उम्मेदवार बनाएको छ ।

यी बाहेकका अन्य ७ वटा पालिकामा गठबन्धन दलहरूले एक्लाएक्लै उम्मेदवारी दर्ता गरेका छन् ।

बझाङ

बझाङका सबै पालिकामा गठबन्धनका संयुक्त उम्मेदवार छन् भने प्रायः पालिकामा बागी उम्मेदवारी परेका छन् । जिल्लाका १२ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७ वटा पालिका, एकीकृत समाजवादीले ३ र माओवादी केन्द्रले २ पालिकामा प्रमुख तथा अध्यक्षका उम्मेदवार उठाएको छ ।

कांग्रेसले जयपृथ्वी नगरपालिका, बुङ्गल नगरपालिका, मष्टा, साइपाल, खप्तडछान्ना, वित्थडचिर र सुर्मा गाउँपालिकामा प्रमुखमा उम्मेदवारी दिएको छ ।

एकीकृत समाजवादीले केदारस्यु, थलारा र तलकोट गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएको छ । माओवादी केन्द्रले छविसपाथिभेरा र दुर्गाथली गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । तर, बझाङ अधिकांश पालिकामा संयुक्त उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता भएका छन् ।

संम्बन्धित समचार

Leave a Reply