उम्मेदवारी दिनेलाई आयोगद्धारा खर्च सिमा निर्धारण, कस्ले कति खर्च गर्न पाउँछन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख २१, बुधबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख २१, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनेलाई निर्वाचन आयोगले खर्च तोकिदिएको छ । आयोगका अनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँ, महानगरपालिकाका वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले ३ लाख रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले ५ लाख ५० हजार रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले २ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् ।

यस्तै, नगरपालिकाका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष तथा सदस्यहरुले २ लाख रुपैयाँ, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्यहरुले १ लाख ५० हजार रुपैयाँ खर्च पाउनेछन् ।

आयोगको तथ्याङ्क अनुसार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा देशभर १ लाख ४५ हजार ८४ जनाले उम्मेदवारी दिएका छन् । यी उम्मेदवारहरुले आयोगले तोकेको रकम मात्र प्रचारप्रसारमा खर्च गरे भने पनि यस पटकको स्थानीय तह निर्वाचनमा उम्मेदवारहरुको २९ अर्ब २२ करोड ७१ लाख ५० हजार रुपैयाँ खर्च हुने देखिन्छ ।

अनौपचारिक कुराकानीमा उम्मेदवारहरुले दाबी गरेझै निर्वाचनमा आयोगले तोकेको रकमभन्दा तीनदेखि चार गुना बढी रकम खर्च हुने कुरालाई आधार बनाउने हो भने आउँदो स्थानीय निर्वाचनमा उम्मेदवारको मात्र साढे ८७ अर्ब देखि १ खर्ब १६ अर्ब रुपैयाँसम्म खर्च हुने देखिन्छ ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगरपालिकाको प्रमुखमा १६१ र उपप्रमुखमा ८३ जनाले उम्मेदवारी दिएका छन् । आयोगले तोकेको रकम मात्र खर्च गरे भने निर्वाचनमा महानगरपालिका प्रमुखमा उम्मेदवारी दिनेले १२ करोड ७ लाख ५० हजार रुपैयाँ र उपप्रमुखका उम्मेदवारको ६ करोड २२ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ ।

महानगरपालिकको वडा अध्यक्ष तथा सदस्य पदमा ३ हजार ९९५ जनाको उम्मेदवारी परेको छ । आयोगले तोकेको रकम मात्र उनीहरुले लगाए भने पनि निर्वाचनमा उनीहरुको १ अर्ब १९ करोड ८५ लाख रुपैयाँ खर्च हुनेछ ।

यसपटक उपमहानगरपालिकाको प्रमुखमा १८१, उपप्रमुखमा ११० र वडा अध्यक्ष तथा सदस्यमा ५ हजार ८१८ जनाले उम्मेदवारी दिएका छन् । आयोगले तोकेको रकम मात्र उनीहरुले प्रचारप्रसार लगाए प्रमुखका उम्मेदवारको ९ करोड ९५ लाख ५० हजार रुपैयाँ, उपप्रमुखका उम्मेदवारको ६ करोड ५ लाख रुपैयाँ र वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारको १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ खर्च हुने देखिन्छ ।

यस्तै, स्थानीय निर्वाचनमा नगरपालिका प्रमुखमा २ हजार ९४७, उपप्रमुखमा १ हजार ७९१, वडा अध्यक्ष तथा सदस्यमा ६७ हजार ५७० जनाले उम्मेदवारी दिएका छन् । आयोगले तोकेको रकम मात्र खर्च गरे भने पनि यसपटकको निर्वाचनमा नगरपालिकाका प्रमुख पदका उम्मेदवारले १ अर्ब ३२ करोड ६१ लाख ५० हजार रुपैयाँ, उपप्रमुख पदका उम्मेदवारले ८० करोड ५९ लाख ५० हजार रुपैयाँ र वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारले १३ अर्ब ५१ करोड ४० लाख रुपैयाँ खर्च गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस