जगन्नाथले उम्मेदवारी फिर्ता नलिने, भने-‘बरु रेनु दाहाललाई फिर्ता लिनुस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २२, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २२, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा उम्मेदवार पौडेलले आफू चुनावी अभियानमा होमिइसकेकाले पछि हट्नै नसक्ने अवस्था रहेको बताए ।

भरतपुरमा बिहीबार सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच वार्ता भएको हो । उक्त वार्तामा जगन्नाथसँगै, मीना खरेल र कृष्णलाल सापकोटा पनि पुगेका थिए । जगन्नाथलाई मेयरको उम्मेदवारमा खरेल समर्थक र सापकोटा प्रस्तावक छन् ।

‘हामीले पुरानै अडान राखेका छौँ । यहाँ कांग्रेसले मेयर पाउनुपर्छ भन्ने मेरो कुरा हो’, उम्मेदवार पौडेलले भने, ‘यदि मैले पछि हट्नुपर्छ भने रेनु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ । त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नुपर्छ । यदि त्यसो हुन्छ भने म पछि हट्न तयार छु ।’

उता वरिष्ठ नेता पौडेलले देशभर गठबन्धन बनेको अवस्थामा यहाँबाट पछि हटिदिन जगन्नाथलाई भनेका थिए । तर जगन्नाथले आफूले भनेर अब केही नहुने बताएका थिए ।

‘मलाई पछि हट्नु भन्दा पनि कांग्रेसले रेनुलाई सघाउने निर्णय फिर्ता लिनु उचित हुन्छ । म त चुनावी अभियानमा गइसकेको छु । अहिले पनि तपाईंलाई भेट्न चुनावी अभियानबाटै आएको हो’, उनले भने, ‘मलाई समय पनि छैन । म घर दैलो अभियानमा निस्किएँ, अब मलाई फिर्ता गर नभन्नु होला ।’

ताजा अपडेट

खोजी गर्नुहोस