स्वीकृति नलिई पात्रो निकाल्नेसँग स्पष्टीकरण माग

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख २३, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई पात्रो प्रकाशन गर्नेसँग स्पष्टीकरण माग्न थालेको छ ।समितिको गठन आदेशको दफा ७ को बुँदा (ञ) र (ठ) अनुसार अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारबाहीको तयारीस्वरूप भौतिक उपस्थितिमै स्पष्टीकरण माग्न थालिएको हो ।

पहिलो चरणमा नेपाल पञ्चाङ्गका पञ्चाङ्गकार नारायण नेपाललाई कार्यालयमै बोलाएर समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले मौखिक रूपमा स्पष्टीकरण माग गरेको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले जानकारी दिए ।

नेपाललाई एक सातापछि फेरि कार्यालयमा मौखिक स्पष्टीकरणका लागि उपस्थित हुने गरी तारेखमा छाडिएको उनले बताए । समितिको स्वीकृति नलिइ प्रकाशन भएको मुक्तिनाथ पञ्चाङ्ग (पात्रो) का पञ्चाङ्गकारलाई पनि कार्यालयमै उपस्थित भएर स्पष्टीकरण माग्ने समितिले जनाएको छ ।

यसैगरी समितिले अनुमति नलिई प्रकाशन भएका भित्तेपात्रोको अनुगमनलाई पनि तीव्र बनाएको छ । अहिलेसम्मको अनुगमनका क्रममा चार दर्जन भित्ते पात्रो अनुमति नलिई प्रकाशन भएको पाइएको छ । अहिलेसम्म समितिसँग अनुमति लिएर प्रकाशन हुने भित्तेपात्रोको संख्या एक हजार नाघेको छ ।

अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाही गर्न कार्यविधि बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिलाई निर्देशन दिएको छ । मन्त्रालयले समितिलाई कार्यविधिको मस्यौदा तयार पारी पेश गर्न निर्देशन दिएको हो ।

कार्यविधि स्वीकृत भएपछि अनुमति नलिइ प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाही गरिने भएको छ । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समिति गठन आदेश स्वीकृत गरेपछि पात्रो र भित्तेपात्रोले समितिसँग स्वीकृति लिनुपर्ने व्यवस्था नेपाल राजपत्रमा प्रकाशन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस