वैशाख २५, काठमाण्डौ । नेकपा एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ६७ बुँदे अपिल जारी गरेको छ । आइतबार एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय पत्रकार सम्मेलन गरेर राजजनीतिक तथा समसामयिक विषयमा आफ्नोसहित पार्टीको ६७ बुँदे धारणा सार्वजनिक गरेका हुन् ।
उनले संविधानको अपब्याख्या गरेर एमालेलाई सत्ता बाहिर लगिएकाले जनादेशबाट जवाफ दिनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले जनादेश भन्दा ठूलो परमादेश नहुने भन्दै एमालेलाई मत दिन आह्वान गरेका छन् ।
साथै उनले नयाँ मतदाताहरूलाई जीवनको पहिलो मतदान सूर्यमा गर्न आग्रह गरेका छन् । जीवनको पहिलो मतदान सूर्य चिह्नमा गरेर विकासको नयाँ युगमा प्रवेश गर्न ओलीले आग्रह गरेका छन् । ‘तपाइँहरूको क्षमता विकास गरी तपाइँहरूलाई अद्वितीय उपलब्धी हासिल गर्नसक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ,’ ओलीले भनेका छन् ।
उनले नयाँ मतदातालाई मात्र नभएर नेपाली कांग्रेसलाई मतदान गर्ने सोच बनाइरहेका मतदातालाई समेत सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । ‘कांग्रेसलाई मतदान गर्ने धारणा बनाउनुभएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु,’ ओलीले भने, ‘यसपटक नेपालको विकासका लागि, तपाइँहरूको जीवनमा सुख समृद्धि ल्याउनका लागि र तपाइँहरूका सन्ततीको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्, निर्धक्कका साथ सूर्य चिह्नमा मतदान गरौं ।’
गठबन्धन बनाउनको लागि जनताको मत नचाहिने भन्दै जनताको मत त नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिने ओलीको भनाइ छ । त्यो सुनौलो युग नेकपा एमालेले सुरू गरिसकेको भन्दै अबको पाँच वर्षमा सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।