अब शुक्रवार पनि शेयर कारोबार, अडलट कारोबार नगराउन ब्रोकरलाई निर्देशन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख २६, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २६, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवारदेखि शुक्रवारसम्म शेयर बजार सञ्चालन गर्ने भएको छ । नेप्सेको सञ्चालक समितिको वैशाख २१ गतेको बैठकले आइतबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय अनुसार कार्यालय समय सञ्चालन गर्ने र बजार सञ्चालन भने सोमवारदेखि शुक्रवारसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयलाई कार्यान्वयन गर्न नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई समेत निर्देशन दिईसकेको जानकारी दिएको छ । यस अघि नेप्सेले आइतवारदेखि बिहीवारसम्म पाँच कारोबार दिन बजार सञ्चालन गर्दै आएको थियो । धितोपत्र कारोबारको राफसाफ गर्दै आएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले समेत यस अघिनै शुक्रवार पनि कारोबार गर्नुपर्नेमा जोड दिदैं आएको थियो । शुक्रवारपछि लगातार दुई दिन सार्वजनिक विदा हुने भएकाले उक्त दिनको राफसाफ सोमवार हुने जानकारी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको छ ।

साथै, नेप्सेले अडटल कारोबार नगराउन समेत सम्पूर्ण ब्रोकरहरुलाई निर्देशन दिएको छ । धितोपत्र कारोबार सञ्चालन नियमावलीमा भएको व्यवस्था अनुसार सामूहिक लगानीकोषको इकाइ भएमा अंकित मूल्य रू. १० को १०० कित्ता, अंकित मूल्य रू. १०० भएमा १० कित्ता कारोबार हुने व्यवस्था रहेको छ । त्यस्तै अंकित मूल्य रू. १ हजार भएको ऋणपत्र भएमा १ कित्ता कारोबार हुने व्यवस्था रहेको छ । उल्लेखित कारोबार इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुने नेप्सेको भनाई छ ।

कारोबार इकाई वा सोभन्दा बढी धितोपत्र भएका धितोपत्रधनिहरूले आफ्नो धितोपत्रलाई अडलट बनाई समेत विक्री गर्न नपाईने जानकारी नेप्सेले दिएको छ । उल्लेखित अडलटको कानुनी व्यवस्था कार्यान्वयनको जिम्मेवारी ब्रोकरहरुको रहेको स्मरण गराउँदै नेप्सेले कारोबार व्यवस्थापन प्रणालीमा अनलाईन तथा अफलाईन मार्फत समेत अडलटमा कारोबार नगराउन भनेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस