आज मध्यरातिदेखि मौन अवधि सुरु, उल्लङ्घन गरे उम्मेदवारी रद्द हुने

बैशाख २७, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत आज (मंगलबार) रातिदेखि मौन अवधि सुरु हुदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि आज राति १२ बजेदेखि मतदान हुने दिनको राति १२ बजेसम्म लागू हुनेछ ।

उम्मेदवारहरूले आज रातिसम्म मात्रै प्रचार र मत माग्न पाउनेछन् । मंगलबार साँझसम्म सबैले आफ्नो दल र उम्मेदवारको प्रचारप्रसार गरेपनि मौन अवधि सुरु भएपछि निर्वाचनको दिनसम्म नै नपाइने आयोगले जनाएको छ ।

यस्तै, मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले मौन अवधि सुरु हुनुअघि नै सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न आग्रह गरे । यसका लागि आवश्यक निर्देशन दिन र नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

आयोगले मंगलबार राति १२ बजेदेखि नै मतदान सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ । प्रवक्ता पौडेलले आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरेको जानकारी दिए ।

यस्तै, आज मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमानाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

के गर्न पाइँदैन?
आचारसंहिताको परिच्छेद खण्ड ७१ को १६ नम्बर उल्लेख भए अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा लेखिएको छ, ‘उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् ।’ मौन अवधि सुरु हुनुभन्दा अघि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाइएको हुनुपर्नेछ ।

यस्तै एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न पाइदैन । उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइदैन । उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न पाइँदैन ।

कुनै पनि उम्मेदवारको लागि राखिएको सामग्री बिक्री वा प्रदर्शन गर्न पाइँदैन । कसैले पनि गराउन हुँदैन । उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण पाइँदैन ।

मौन अवधि समयमा पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालना गर्न सचेत गराउनेछ । मौन अवधिको बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे आयोगले उम्मेदवारी रद्द गर्न सक्ने छ । एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने छ । यो व्यवस्था स्थानीय निर्वाचन ऐन, २०७८ मा उल्लेख गरेको छ ।

संम्बन्धित समचार

Leave a Comment