गाउँपालिका अध्यक्ष र नगरपालिकाका मेयरकी उम्मेदवार प्रहरीको नियन्त्रणमा

बैशाख २९, इलाम । नेकपा एमाले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

राईलाई बुधबार राति वडासदस्य उम्मेदवार सीता कार्कीसहित गाउँपालिकाको वडा नम्बर ५ मा आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीयवासीले घेरा हालेका थिए । जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि राईलाई सुरक्षाका लागि राखिएको बताए ।

मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीले विरोध गरेका थिए । आचारसंहिता उल्लंघन गरेको भन्दै स्थानीयले उनलाई कारबाहीको माग गरेका छन् ।

यस्तै, बागलुङको गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटले चालिसेलाई नियन्त्रणमा लिएर ६ घण्टापछि छाडेको हो ।

बुधबार राति करिब १० बजे तिर गलकोट नगरपालिका ९ वीरकोटमा आचारसंहिता विपरीत उम्मेदवारले पैसा बाँडेको सूचना पाएपछि प्रहरी पुगेको थियो । त्यस ठाउँमा नभेटिए पनि केही दूरीबाट गाडीसहित चालिसेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गलकोटका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले चालिसेलाई राति १० बजे नियन्त्रणमा लिएर बिहीबार बिहान ३ बजे छाडेको बताए । तर उनको साथबाट रकम फेला नपरेको उनले बताए ।

नेपाली कांग्रेसकी नेतृ चालिसे पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसकै नेता भरत शर्मा गैरेको विरुद्धमा उम्मेदवारी दिएकी हुन् । पाँचदलीय गठबन्धनका कार्यकर्ता र चालिसेका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै सावधानी अपनाएको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment