जेठ ४, काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ को मतगणना कार्य रोकिएको छ । मतपेटिकालाई कपडाले नढाकेको बिषयलाई लिई बिबाद उत्पन्न भएपछि अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरिएको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताए ।
मनहरी-९ को एउटा मतपेटिका कपडाले नछोपिएको अवस्थामा भेटिएपछि राजनितिक दलका प्रतिनिधिले छोपिएको अवस्थामा हुनु पर्ने भनि विवाद निकाले पछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना कार्यलाई अनिश्चित समय सम्मको लागि स्थागित गरिएको सूचनामा उल्लेख छ । १ देखि ८ सम्मको गणनामा शान्तिपूर्ण तरिकाले सर्वदलीय बैठकमा भएको निर्णय अनुसार मत गणना कार्य सम्पन्न भएको थियो ।
मतपेटिकामा अन्तराष्ट्रिय मापदण्ड अनुसारको मान्यता प्राप्त डिजिटल सिल गरिने व्यवस्था अनुसार ५ वटा सिल लगाइएको हुन्छ । जुन सिल एक पटक तोडेपछि पुन लगाउन सकिदैन । सिलमा उल्लेख हुने डिजिटल नम्बर दलको प्रतिनिधिहरूसँग रुजु गरेमा सहजै मतपेटिका साटिएको हो वा हैन पत्ता लाग्छ । सहजै विवाद सुल्झाउन सकिने भए पनि कुरा बुझाउने नसक्दा मतगणना नै अवरुद्ध भएको हो ।
मकवानपुर जिल्ला मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले सिल गरिएको बाकस चौर मै फालिए पनि सुरक्षाको दृष्टिकोणले कुनै समस्या नहुने भन्दै कपडाले ढाक्न नपर्ने बताए ।