मंसिर १९,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनसम्बन्धी कानुन नमान्ने कर्मचारीलाई सेवाबाट हटाइने चेतावनी दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले अबको तीनरचार दिनभित्रै कर्मचारी समायोजनसम्बन्धी कानुन आउन लागेको भन्दै अटेर गर्ने कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिए ।
नयाँ कानुनसँगै तीनै तहका कर्मचारी समायोजनको काम टुंगिने उनको भनाइ थियो ।
मन्त्री पण्डितले नयाँ कर्मचारी भर्ना प्रक्रियालाई पनि चाँडै नै अघि बढाइने जानकारी दिए ।
अर्को एक प्रसंगमा मन्त्री पण्डितले रेमिट्यान्सको भरमा मुलुकलाई चलाउने सोचमा सरकार नरहेको बताए ।
कार्यक्रममा अपांगता भएका व्यक्तिलाई सेतो छडी, वैशाखी र व्हीलचियर वितरण गरिएको थियो ।