हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप, कहिलेसम्म दिन सकिन्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ ८, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ८, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले वैशाख २५ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यो आईपीओ छिटोमा जेठ ८ गतेसम्म विक्रीमा रहने मिति तय गरेको थियो । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेकाले जेठ १६ गतेसम्मको मिति कम्पनीले तय गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले विद्यमान जारी पूँजी रू. १ अर्ब ९ करोड ५० लाखको ८ दशमलव २२ प्रतिशत शेयर स्थानीयमा विक्री गर्न लागेको हो ।

प्रतिशेयर रू. १०० मूल्यका रू. ९ करोड बराबरको ९ लाख कित्ता साधारण शेयर स्थानीयनले खरीद गर्न सक्नेछन् । आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुहरुले यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

आवेदकहरुले न्यूनतम १० कित्ता देखि अधिकतम एक लाख कित्तासम्म माग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

हाल संस्थापकतर्फ रू. ८७ करोड चुक्तापूँजी कायम रहेको कम्पनीले स्थानीयमा आईपीओ जारी गरेपश्चात् सर्वसाधारणमा कर्मचारी सहित १२ दशमलव ३३ प्रतिशत शेयर जारी गर्नेछ ।

हाल संस्थापक तर्फ ७९ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५० लाख पुग्नेछ ।

कम्पनीले कास्की जिल्लामा ११ दशमलव ८८ मेगावाट क्षमताको नामार्जुन मादी जलविद्युत् आयोजना निर्माण गरी २०७७ साल असोज १२ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७७/७८ सम्म कम्पनी रू. १ अर्ब ३१ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ रहेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. ७ करोड २८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको देखिन्छ ।

यस अवधिसमम भने कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६७ दशमलव ९६ रहेको छ । तर, कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ कै आधारमा दोस्रो बजारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज प्राप्त गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस